अष्ट्रेलियाको माघी महोत्सवमा थारू खानाका परिकार राखिने

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए।

उनका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको चौधरीले जानकारी दिए।

प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पब्लिक अफिसर चौधरीको भनाइ छ। कार्यक्रममा सहभागी हुने थारूहरू मौलिक पहिरनमा उपस्थित हुनेछन् भने थारू परिकारको व्यवस्थासमेत गरिने उनले बताए।

कार्यक्रममा थारू मौलिक नृत्य र थारू परिकारको व्यवस्था गरिने भएको छ। चौधरीका अनुसार थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिनेछ।

कार्यक्रममा गैरथारूको पनि उपस्थिति हुने उनले बताए। ‘अष्ट्रेलियाका सबै जातीय संघसंस्थाका पधादिकारी र गैर आवासीय संघका अध्यक्षसहित नेपालीबासी कार्यक्रममा उपस्थित हुनेछन्। प्रमुख अतिथिमा चाहिँ नेपालबाट आउनुभएका थारूका ज्येष्ठ अभिभावकलाई राख्ने गर्छौं,’ उनले भने।

विस्तृत जानकारीका लागि अरुण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *