प्रचण्डले दिएको आश्वासन झल्झली सम्झिरहेको छु : रेशम चौधरी

प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट साभार

जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ?

मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु ।

चुनावमा नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा उल्लेख्य जनप्रतिनिधि जिताएको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?

परिवर्तन चाहने जनताले हामीलाई मत दिएर जिताउनुभएको छ । यो भनेको जनताको अदालतमा हामीले न्याय पाएसरह हो । हामीलाई जनताले न्याय दिइसकेका छन्, तर राज्य अझै हामीलाई अपराधी करार गरिरहेको छ ।

लोकतन्त्रमा जनमत नै विधिको शासन हो भन्छन्, तर यहाँ शासकहरू मतलाई कुल्चेर थारूमाथि दमनको निशाना कायमै राखिरहेका छन् । हामीले जनमतलाई उत्साहको रूपमा लिएका छौं ।

अन्य साना पार्टीहरू सरकारमा गए; तपाईंको पार्टीले समर्थन मात्रै गर्‍यो नि, किन ?

सही हो, नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन दिनुको कारण हामीलाई प्रचण्डले दिएको आश्वासन हो । दलहरूले दिएको वाचा नै पूरा नगरेपछि संघीय सरकारमा जानुको अर्थ रहेन । उनीहरूले मलाई जे आश्वासन दिएका थिए, त्यसमा सरासर धोका भयो । खासगरी पुष्पकमल दाहाल प्रचण्डले दिएको आश्वासन म अहिले झल्झली सम्झिरहेको छु ।

तपाईंलाई मन्त्री अफर आएको प्रचार सुनियो, यस्तो हुन सम्भव छ र ?

बिल्कुल । मन्त्रीको अफर त आएकै हो तर मैले नै मानिनँ । किनकि मन्त्री बन्न मलाई उनीहरूले आफ्नो पार्टीमा प्रवेश गर्नुपर्छ भन्ने शर्त राखेका थिए । मेरो दिल र दिमागले दुवै अस्वीकार गर्‍यो । थारूको हकअधिकारको लागि लडेर आएको मान्छेले मन्त्रीको पदमा भुल्नुहुन्न भनेर सम्झिएँ । मैले त्यो अफर नै इन्कार गरिदिएँ ।

प्रचण्डले तपाईंलाई के आश्वासन दिनुभएको थियो ? अरू दलले के भनेका थिए ?

उहाँ (पुष्पकमल दाहाल प्रचण्ड)ले प्रधानमन्त्रीको शपथ खानुअघि मलाई आफू सरकारमा गए २४ घण्टाभित्र निकाल्ने भन्नुहुन्थ्यो मलाई जेलमा भेट्न आउनुहुँदा । तर, जब पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ खानुभयो उहाँको बोली नै फेरियो ।

२४ घण्टामा मलाई रिहा गर्छु भनेको वाचा सम्झाउन उहाँलाई पटक–पटक फोन गर्दा कुनै सम्बोधन नै गर्नुभएन । यसले त हामीलाई प्रचण्डले सरासर ढाँटेको भान भएको छ । हामी त छाँगाबाट खसेजस्तो भएका छौं ।

तर, फेरि सुदूरपश्चिम प्रदेश सरकारमा त मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा जान तयार हुनुभयो नि ?

प्रदेशमा त हाम्रो पार्टी सरकारमा नगई कसैको बहुमत नै पुग्दैन, त्यो त तपाईंलाई नि थाहा छ होला । उनीहरू हामीप्रति सकारात्मक छन् । हामीसँग छलफलमा छन् र सरकार बनाउने विषयमा गम्भीर छन् ।

थारूको माग र मुद्दा पनि प्रदेशमा उठाउनुपर्ने छ, टीकापुर घटना राजनीतिक हो भनेर सदनमार्फत आवाज उठाउन जरूरी पनि छ । त्यसकारण नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा जान तयार छ ।

सरकारमा जान तपाईंको माग र मुद्दा के के छन् ?

मेरो मुख्य माग त टीकापुर घटना राजनीतिक हो, यसलाई त्यही रूपमा टुंग्याउनुपर्छ भन्ने हो । टीकापुरका राजबन्दीहरू जेलमा छन् । उनीहरूको सबै लुटिएको छ, सम्मानजनक रिहाइ र क्षतिपूर्तिसहित राज्यले छाड्नुपर्छ ।

लाल आयोगको प्रतिवेदन किन लुकाएर राखेको भनेर सरकारसँग माग गर्दछु । जनताको नजरमा मलाई किन दोषी देखाएर लाल आयोग लुकाएको भनेर प्रश्न गर्न चाहन्छु । लाल आयोगको प्रतिवेदन कहिले हो सार्वजनिक गर्ने ?

नागरिक उन्मुक्ति पार्टीको अबको योजना के छ ?

हामीले जनताको मन जित्दै गएका छौं, मतमार्फत । पहिलो पटक २०७४ सालमा पनि शानदार मतका साथ म आफैं त्यसबेला राजपाबाट विजयी भएँ । भर्खरै मंसिर ४ को चुनावबाट पनि जनताले ढकियाभरी भोट दिएर जिताए । यसकारण हामी अब मतमार्फत जनताको मन जित्न चाहन्छौं, देशैभरि ।

म शान्ति चाहने मान्छे हो । बुलेट होइन ब्यालेटबाट मन जित्न तयार हौं भनेर भन्दै हिंड्ने मान्छे । तर राज्यले एउटा कमैयाको छोरा हो भनेर परिबन्दमा पारेपछि सबै थारू समुदाय जागेका छौं ।

देशभर शान्ति, चेतना र सजगताले काम लिने योजनामा छौं । तर, राज्य र शासकले दबाउन खोजे जनताको दैलोमा जान्छौं, उनीहरूले हामीलाई जे न्याय दिन्छन्, त्यही लागू गर्छौं ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *