मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीको कडा आलोचना

थारू आयोगका पदाधिकारीहरूले मधेसी आयोगको विज्ञप्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ। थारू आयोगका पदाधिकारीहरूकै मिलेमतोमा मधेसीमा सूचीकृत गरिएको मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीहरूले आपत्ति जनाएको छ।

थारू आयोगले यस सम्बन्धमा पत्र पठाएरै मधेसी आयोगको विज्ञप्तिको आलोचना गरेको छ। बिहीबार मधेसी आयोगलाई पत्र लेखेर आपत्ति जनाएको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले जानकारी दिए। थारू आयोगका पदाधिकारीहरूको मिलेमतो पुष्टि गर्न मधेसी आयोगलाई चुनौती समेत दिइएको छ।

मधेसी आयोगले अर्नग्ल प्रचारबाजी गरेको र थारू आयोगका पदाधिकारीहरूको मानमर्दन गरेको आयोगका पदाधिकारीहरूले बताएका छन्। ‘हामीमाथि झुठा आरोप लगाएर मधेसी आयोग पन्छिन खोज्यो। सूचीकरणमा हाम्रो कुनै सहमति छैन। बरु हामीले पटक-पटक यसमा विमत्ति राखेका छौं,’ उनले थारुवानसँग भने।

मधेसी आयोगलाई दोहोरो चरित्र पुष्टि गर्नसमेत आयोगका पदाधिकारीहरूले चुनौती दिएका छन्। ‘हामीले पत्रमार्फत् कडा शब्द आलोचना गरेका छौं। के कति कारणले त्यस्तो निच शब्दमा हामीमाथि आरोप लगाइएको छ। त्यसको पुष्टि गर्न चुनौती दिएका छौं। पुष्टि गर्न सक्दैनौं भने सार्वजनिकरूपमा माफी माग्नसमेत हामीले दबाब दिएका छौं,’ आयोगका एक पदाधिकारीले भने।

गत मंसिर २९ गते प्रेस विज्ञप्ति जारी गर्दै मधेसी आयोगले थारू आयोगका पदाधिकरीहरूकै सहमतिमा थारूलाई मधेसीमा सूचीकृत गरेको उल्लेख गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *