गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध उभिए कांग्रेसकै थारू नेताहरू, आन्दोलनको घोषणा

सरकारले ल्याएको अध्यादेशलाई लिएर सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यादेशविरुद्ध अभिव्यक्ति दिइरहँदा कांग्रेसका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, योगेन्द्र चौधरी, गोपाल दहित, कल्पना चौधरीलगायतहरूले अध्यादेशको स्वागत गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले गगन र विश्वप्रकाशलगायत आफ्नै नेताहरूको अभिव्यक्तिलाई कडारुपमा आलोचना समेत गरेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अध्यादेशको विरोध गर्नेहरूलाई प्रतिवाद गर्ने बताए। उनले अध्यादेश तुहाउने खेल खेलिए चुप लागेर नबस्ने चेतावनीसमेत दिए।
‘थरूहट आन्दोलन मुलुकको स्वाधीनताको रक्षाका लागि भएको थियो। तर थारू आन्दोलनलाई हिंसा देखाएर थारूको भावनामाथि ठेस पुर्‍याउने काम भयो। आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दाहरू समाधान गर्न ल्याइएको अध्यादेशको हामी सम्मान गर्छौं। तर ज-जसले यो अध्यादेशप्रति प्रश्न उठाउनुभयो र अध्यादेश तुहाउने खेल खेल्दै हुनुहुन्छ। हामी चुप लागेर बस्दैनौं। त्यसको प्रतिवाद हामी सडकबाट गर्न तयार छौं,’ उनले भने।

उनले रेशम चौधरीलाई उपचारका क्रममा नेल लगाउँदा मानवअधिकारकर्मीहरू कहाँ हराएको भन्दै प्रश्न गरे। ‘रेशम चौधरी एउटा व्यक्ति जसलाई राज्यले गलत ढंगले मुद्दा लगायो। ती व्यक्ति बिरामी हुँदा अस्पताल भर्ना गरिन्छ। अस्पतालमा राणा शासनमा नभएको दुर्व्यवहार नेल लगाएर राखिन्छ। त्यतिबेला लोकतन्त्रका दुहाइ दिने नेताहरुले मानव अधिकार हनन भयो भनेर किन आवज उठाउँदैन?,’ उनले प्रश्न गरे।

उनले थरुहट टीकापुर घटनामा को दोषी थियो भन्ने कुराको सरकारले न्यायिक छानबिन बनाए पनि प्रतिवेदन सार्वजनिक गर्न नमानेको आरोप लगाए। ‘हामी चुनौती दिन चाहन्छौं, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुस्। देवीराम शर्माको नेतृत्वको बनेको छानबिनको प्रतिवेदन सार्वजनिक गर्नुस्। ती प्रतिवेदनहरू सार्वजनिक नगर्नुको कारण के हो?,’ उनले प्रश्न गरे।

त्यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य रामजनम चौधरीले अध्यादेशको स्वागत गरे। उनले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूको सुरक्षित अवतरण गर्न अध्यादेश ल्याएको बताए।

‘हामीमाथि लगाइएको जुन झुटा मुद्दाहरु छन्। आफ्नो अधिकार पहिचान संविधानमा लेखाउने बेला हामी आन्दोलनमा थियौं। हामीमात्रै होइन, आदिवासी जनजाति, मधेसी, मुस्लिम सबै आन्दोलनमा थियौं। त्यही बेला केही घटनाहरु घट्यो। त्यो दुर्भाग्यपूर्ण थियो। थारु अगुवाहरुको घरमा पनि आगो लगाइयो। हामीले भोग्यौं। त्यसबेला साढे ५ सय बढी मुद्दा थियो। ती मुद्दाहरुको सुरक्षित अवतरणको लागि अध्यादेश ल्याइएको हो,’ उनले भने।

उनले राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण हुन्छ भन्ने विश्वास लिएको बताए। उनले गगन थापालाई आफूले दिएको अभिव्यक्ति स्मरण गर्न आग्रह गरे। केही अघि गगन थापाले रेशम चौधरी निर्दोष भएको उनलाई रिहाइ गर्नुपर्ने भाषण दिएका थिए।

‘पश्चिम थरुहट जिल्ला पुगेर रेशम चौधरीको रिहाइ हुनुपर्छ भन्ने अनि रिहाइ गर्न खोज्दा विरोध गर्ने?,’ चौधरीले थापालाई इंगित गर्दै भने।

त्यस्तै अर्का केन्द्रीय सदस्य गोपाल दहितले पनि अध्यादेशको बचाउ गरेका छन्। उनले अन्याय र उत्पीडनमा पारिएका जाति, वर्ग, क्षेत्र र लिंगको मुक्ति र विकासका लागि एउटा होइन, १० वटा अध्यादेश ल्याउन परे ल्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

‘मलाई लाग्थ्यो, हाम्रो पार्टी सबै जाति, वर्ग, धर्म र सामुदायको हो। तर आज केन्द्रीय दुई युवा पदाधिकारीले नेपालको प्रमुख समस्या जातीय उत्पीडन र पहाडी मानसिकताबाट मुक्त हुन नसकेको र त्यसैको पक्षपोषण गरेको देख्दा दुःख लागेको छ,’ उनले भनेका छन्।

माओवादीका पोलिटव्युरो सदस्य सन्तकुमार थारूले अध्यादेशको स्वागत गर्दै पार्टीभित्र दबाब दिनका लागि थारू नेताहरू एकीकृत भएको बताए। ‘अध्यदेशविरुद्ध केही नेताहरुले प्रश्न उठाएको देखियो। त्यसको प्रतिवाद गर्न हामी यहाँ उभिएका छौं। हामी पार्टीभित्र पनि दबाब दिन्छौं,’ उनले भने।

महामन्त्री विश्वप्रकाश शर्माले ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्णरुपले गलत’ भएको बताएका थिए।
उनको स्टाट्समा गगनले प्रतिक्रिया दिएका छन्, ‘सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शतप्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन, नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो।’

उनले पटक-पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्णरूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको बताए। ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन,’ गगनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *