यी हुन् मधेसमा एमालेको इज्जत जोगाउने थारू नेताहरू, लेखीलाई बनाउँलान् मुख्यमन्त्री?

नेकपा एमालेले यसपटक मधेस प्रदेशमा राम्रो कम्ब्याक गरेको छ। मधेसमा १५ सिट जितेको एमाले समानुपातिक मतमा भने दोस्रो स्थानमा छ। समानुपातिक मत जोडेर पनि यो पार्टी मधेसमा पहिलो बन्ने देखिएको छ।

मधेसमा सप्तरीबाट राजकुमार लेखी, सिरहाबाट राजेन्द्र प्रसाद चौधरी, बाराबाट त्रिलोकी चौधरी र देवनारायण चौधरी विजयी भएका छन्। न्युन प्रतिशत थारू रहेको प्रदेशमा उत्कृष्ट नतीजा ल्याएपछि एमालेले थारू नेतालाई नै मुख्यमन्त्री बनाउनेगरी छलफल चलाएको बताइन्छ।

आदिवासी जनजाति र थरुहटको मुद्दामा अग्रपंक्तिमा रहेका राजकुमार लेखी मुख्यमन्त्रीका मुख्य आकांक्षी रहेको बताइन्छ। त्यसो त धनुषाबाट प्रदेशसभामा विजयी भएका रामचन्द्र मण्डलले पनि मुख्यमन्त्रीको आकांक्षा राखेका छन्। एमाले केन्द्रीय सदस्य र सप्तरी जिल्ला सहईन्चार्ज रहेका लेखीको नेतृत्वमा सरकार बन्नसक्ने एमालेका केन्द्रीय नेताहरु बताउँछन्। तर सरकार बनाउन एमालेले बहुमत जुटाउन सक्छन् कि सक्दैन् भन्ने कुरा मुख्य रहेको ती नेताहरुको भनाइ छ।

मधेसमा सीके राउत नेतृत्वको जनममत पार्टी निर्णायक देखिएको छ। सीके राउतले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी गठबन्धनमा आबद्ध हुने आश्वासन दिएका छन्। यसरी हेर्ने हो भने मधेसमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना न्युन छ। किनकि एमाले, जसपा र राप्रपा मिलेर सरकार बनाउन सक्दैन।

जनमत पार्टीका नेताहरुले भने आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेका छन्। केन्द्रीय सरकारमा समर्थन जुटाएर मधेसमा आफ्नै नेतृत्वमा सरकार बनाउन सीके राउतले लबिङ थालेको उनी निकट नेताहरु बताउँछन्। कांग्रेस नेतृत्वको गठबन्धन वा जनमतले सरकार बनाउनसके एमाले प्रमुख प्रतिपक्षीको भूमिका निभाउनुपर्ने देखिन्छ। पहिलोपटक सांसद बनेका लेखीलाई यसपटक मुख्यमन्त्री बन्ने अवसर भने धेरै रहेको देखिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *