लुम्बिनी प्रदेशमा सरकार बनाउन रेशम चौधरी फकाउँदै दलहरू

निर्वाचनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। उसले १८ सिट जित्दा नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ५ सिट जितेर तेस्रो स्थानमा आउँदा बाँकी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी दुई-दुई सिटमा जित हासिल गरेको छ। जनमतले एक सिट जित्दा स्वतन्त्रबाट ३ जना विजयी भएका छन्।

समानुपातिकतर्फ हालसम्म गणना भएको १८ लाख ८७ हजार मतमा नेकपा एमाले पहिलो स्थानमा छ। एमालेले समानुपातिकबाट कम्तिमा १० सिट ल्याउँदा २८ सिटसहित ऊ पहिलो दल बन्ने निश्चित छ।

त्यस्तै कांग्रेस समानुपातिकबाट कम्तिमा ९ सिट पाउँदा २६, माओवादीले समानुपातिकबाट कम्तिमा ४ सिट पाउँदा ९ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी समानुपातिक सिटसहित ४-४, जसपा र लोसपा समानुपातिक सिटसहित ३-३ र जनमत र नेकपा एस समानुपातिक सिटसहित दुई-दुई सिट पाउने देखिन्छ। यद्यपि समानुपातिकतर्फ मतगणना जारी रहेका सिट केही संख्या तलमाथि हुनसक्छ।

लुम्बिनी प्रदेशमा ३५ समानुपातिकसहित ८७ सिट संख्या रहेको छ। जहाँ सरकार बनाउन कम्तिमा ४४ सिट चाहिन्छ। पहिलो दल बनेको नेकपा एमालेले र दोस्रो नेपाली कांग्रेसलाई समेत सरकार बनाउ कठिन देखिएको छ। एमालेले जसपा, राप्रपा र जनमतको सिट जोड्दासमेत सरकार बनाउन कठिन देखिएको हो। उसका लागि नागरिक उन्मुक्त पार्टीको सिट निर्णायक बनेको देखिन्छ।

त्यस्तै कांग्रेस नेतृत्व गठबन्धनाका लागि पनि सरकार बनाउन कठिन देखिएको छ। वर्तमान गठबन्धनका दलहरुको सिट संख्या जोड्दा ४० भन्दा धेरै पुग्दैन। उसका लागि नागरिक उन्मुक्ति पार्टी ने निर्णयक देखिएको छ।

हुन त सत्ता सहकार्यका लागि नागरिक उन्मुक्तिका संरक्षकसमेत रहेका रेशम चौधरीलाई भेट्न नेताहरूको लर्को लागेको छ। कांग्रेस, माओवादी र एमाले नेताहरू रेशमलाई भेट्न दिनहुँ डिल्ली बजारस्थित जेल पुगिरहेका छन्। रेशमले टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाइ गर्न प्रमुख शर्त राखेको छ। त्यस्तै टीकापुर राजबन्दीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय प्रमुख रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

यदि नागरिक उन्मुक्ति पार्टी सरकार जानुपरे उसले केन्द्रीय सरकार सुदूरपश्चि प्रदेशमा पनि भाग खोज्ने निश्चित छ। नागरिक उन्मुक्तिले एक स्वतन्त्रसहित प्रतिनिधिसभामा चार सिट जितेको छ भने सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फमात्रै ५ सिट जितेको छ। उसले समानुपातिकमा थप दुईदेखि तीन सिट जित्ने देखिन्छ। तर नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सरकारभन्दा पनि मुद्दालाई प्राथमिकतामा राखेको बताइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *