लुम्बिनीमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी होला?

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा चौथो ठूलो पार्टी बनेको छ। रेशम चौधरी संरक्षक रहेको यो पार्टीले कैलालीमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ५ सदस्य जितेको छ। समानुपातिक मतअनुसार उसले प्रदेशमा थप कम्तिमा दुई सिट प्राप्त गर्नेछ।

प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नं १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र नं २ मा अरुण चौधरी र क्षेत्र नं ३ मा गंगा चौधरी विजयी भएका छन् भने प्रदेशतिर क्षेत्र १ को दुवैसभातर्फ कैलाश चौधरी र लक्ष्मण चौधरी विजयी भएका छन्। त्यस्तै २(२)मा रामेश्वर चौधरी र ३ को दुवै सिटमा घनश्याम चौधरी र खुसीराम चौधरी विजयी भएका छन्। समानुपातिक दुई सिट जोड्दा नागरिक उन्मुक्तिले ७ सिट बनाउनेछ ।

त्यस्तै स्वतन्त्रबाट विजयी रेशम चौधरीका बुबा लालवीर चौधरी बर्दिया क्षेत्र २ बाट विजयी भएका छन्। उनका बुबाले यही पार्टी रोज्नेमा दुई मत छैन। त्यस्तै प्रदेशसभातर्फ बर्दियामा धर्म चौधरी र राजकुमार चौधरी विजयी भएका छन्। यो पार्टीले समानुपातिकबाट थप कम्तिमा दुई सिट प्राप्त गर्नेछ। यसरी हेर्ने हो भने नागरिक उन्मुक्ति लुम्बिनी प्रदेशमा निर्णायक शक्ति बन्नेछ। किनकि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी भनिएका एमालेसँग सोही बराबरको सिट संख्या सरकार बनाउन पुगिरहेको अवस्था छैन।

प्रतिनिधिसभातर्फको समानुपातिकमा भने थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिन्छ। कैलाली क्षेत्र नं ५ बाहेक लगभग पश्चिम थारु बाहुल्य क्षेत्रको मत जोडिसकिएको छ। पूर्वका केही क्षेत्र बाँकी रहँदा नागरिक उन्मुक्तिले कम्तिमा ५५ हजार मत कटाउनुपर्ने देखिन्छ।

नागरिक उन्मुक्ति सरकारमा जान्‍छ?
नागरिक उन्मुक्ति पार्टी सरकारमा जान्छ कि जाँदैन अहिल्यै भन्नसक्ने अवस्था छैन। त्यसो त गठबन्धनका शीर्ष नेताहरु नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई जेलमै भेटेर सरकारमा आउन प्रस्ताव गरिसकेका छन्। सरकारमै जाने हो भने पनि नागरिक उन्मुक्तिले टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्नुपर्ने शर्त राखेको छ। टीकापुर घटनालाई राजनीतिकरण गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उसको मुख्य माग हो।

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति निर्णाक भएकाले गठबन्धनले सरकारमा सहभागिताका लागि जोड दिएको बालुवाटार स्रोतको भनाइ छ। त्यसो हो भने नागरिक उन्मुक्तिले केन्द्रीय सरकारसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आफ्नो भाग माग्न सक्छ। तर नागरिक उन्मुक्तिको लागि यतिबेला मुद्दा प्रमुख कुरा भएको रेशम निकट नेताहरुले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *