कैलाली १ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, रञ्जिता भारी मतान्तरले विजयी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन्। रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनमले १८ हजार ८ मतमात्र ल्याए। एमालेका तवेन्द्र रावलले ५ हजार ९१० मत पाए।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट रेशम चौधरी भारी मतले विजयी भएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशमले एमालेकी गरिमा शाहलाई २० हजार बढी मतान्तरले पराजित गरेका थिए।

त्यस्तै कैलाली १ को प्रदेशसभातर्फ दुवै सिट नागरिक उन्मुक्तिले जितेको छ। प्रदेशसभातर्फ लक्ष्मण चौधरी र कैलालश चौधरी विजयी भएका छन्।

टीकापुर घटनाका आरोपित रेशम चौधरी फरार अवस्थामै विजयी भएका थिए। त्यसलगत्तै उनले प्रहरीसामु आत्मसमर्पण गरेका थिए। त्यसलगत्तै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

थारू अगुहरुले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिँदै आएका छन्। त्यसैले थारूहरुले रेशम चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेकाहरुको रिहाइका लागि आन्दोलनसमेत गर्दै आएको छ।

रेशम चौधरिले यही मुद्दालाई स्थापित गराउन श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। खोलेको केही समयमै स्थानीय निर्वाचनमा भाग लिएको सो पार्टीले कैलालीको चार पालिकामा विजयी भएको थियो।

तस्बिर : अनलाइनखबर डटकम




Leave a Reply

Your email address will not be published. Required fields are marked *