‘नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्यो भने आश्चर्य नमान्नुहोला!’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै एक्जिट पोलहरू सार्वजनिक हुन थालेको छ। विभिन्न सञ्चारमाध्यम र संघसंस्थाहरूले एक्जिट पोल सार्वजनिक गरिरहेका छन्। एक्जिट पोलहरू हेर्दा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको देखिन्छ।

तर केही महिनाअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार उठाएको क्षेत्रबारे अहिलेसम्म एक्जिट पोलहरू सार्वजनिक भएका छैनन्। विशेषत् थारू बाहुल्य रहेको दाङदेखि कञ्चनपुरसम्म कुनैखाले एक्जिट पोलहरू सार्वजनिक भएका छैनन्। केही दिनदेखि आइरहेका विभिन्न एजेन्सीहरूको रिपोर्टमा पनि नागरिक उन्मुक्ति पार्टीबारे खासै चर्चा गरिएको पाइँदैन। के उसो भए नागरिक उन्मुक्ति पार्टी पराजित हुँदैछ? नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको थ्रेस होल्ड कटाउँदैन? आम थारूहरुमा यतिबेला यही प्रश्नले मन गाडेको छ। हुनतः केही समयपछिको प्रारम्भिक मतपरिणामले सबै कुरा प्रस्ट भइ नै हाल्नेछ।

डिल्लीबजार जेलमा रहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई राष्ट्रिय पार्टी बन्न कसैले नरोक्ने दाबी गरेका छन्। एजेन्सीहरुले पनि कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी विजयी हुने आँकलन गरे पनि अन्य क्षेत्रमा मौन बसेको छ। तर रेशमले कञ्चनपुरदेखि दाङसम्मै प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर सिट जित्ने दाबी गरिरहेका छन्। सुरुवाती चरणमा रेशमले २५ सिट जित्ने दाबी गरेका थिए। तर २५ सिट नआए पनि प्रत्यक्ष र समानुपातिक गरी सम्मानजनक सिट जित्ने दाबी नागरिक उन्मुक्ति पार्टीको छ।

अहिले आइरहेका एक्जिट पोल र विभिन्न रिपोर्टहरुमा थारु, दलित र उत्पीडित वर्गको सेन्टिमेट नसमेटिएको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए। ‘अहिले आइरहेका रिपोर्ट र पोलहरुमा थारु, दलित र उत्पीडित वर्गका मत समावेश छैन। त्यो मत नागरिक उन्मुक्ति पार्टीले पाउनेमा हामी विश्वस्त छौं,’ उनले थारुवानसँग भने।

थारू विश्लेषकहरुले पनि रेशम चौधरीको सम्मानजनक मत आउने बताइरहेका छन्। ‘यसपटक रेशम चौधरीको सेन्टिमेन्ट राम्रो देखिएको थियो। पक्कै पनि उनको पक्षमा राम्रै भोट आउँछ,’ एक थारु विश्लेषकले भने। उनले नागरिक उन्मुक्ति पार्टीले थ्रेस हल्ड कटाएर राष्ट्रिय पार्टी बने आश्चर्य नमान्न आग्रह गरे। ‘पश्चिम तराईका थारुहरुमा नागरिक उन्मक्ति पार्टीप्रतिको उत्साह बेग्लै थियो। यदि कसैले रेशमको पार्टी राष्ट्रिय पार्टी बन्दैन भन्ने सोच्छ भने त्यो सोचाइ गलत हुन बेर लाग्दैन। परिणाम जे पनि हुनसक्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *