जनता परिवर्तन चाहिरहेका छन्, मेरो जित सुनिश्चित छ : राधा चौधरी

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्।

थारु समुदायको निर्णायक भोट रहेको उक्त क्षेत्रमा नेकपा एमालेले त्रिलोकी चौधरीलाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसले निजगढका रमेश दंगाललाई उम्मेदवार बनाएका छन्। त्रिलोकीविरुद्ध एमालेकै नेता बागी उम्मेदवार छन् भने गठबन्धनविरुद्धसमेत बागी उम्मेदवार रहेका छन्।

ठूला दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठिरहँदा राधा चौधरीले प्रदेशसभातर्फ बाजी मार्ने स्थानीयको आँकलन छ। थरुहट आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी युवा नेतृ राधाले अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उपमेयरका उम्मेदवार थिइन्।

स्थानीय निर्वाचनसम्म कांग्रेसमा रहेकी उनी कोल्हबी नगरपालिकाको उपमेयरमा पार्टीबाट एकल सिफारिसमा परेकी थिइन्। तर खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनको टिकट खोसेर ससुराली खलककी लक्ष्मी कुमारी चौधरीले दिएकी थिइन्।

पार्टीबाट रुस्ट बनेकी राधा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेकी हुन्। उनको पक्षमा नेपाली कांग्रेसकै धेरै नेता-कार्यकर्ताहरु रहेको कांग्रेस निकट नेताहरुकै भनाइ छ।

खानेपानी मन्त्रीको रवैयाबाट सो क्षेत्रका थारु समुदायहरु रुस्ट रहेका कारण पनि थारु समुदायको मत राधालाई जाने स्थानीय सुकदेव चौधरीले बताए। ‘माननीय उमाकान्तजी पटक पटक मन्त्री बन्नुभयो। तर उहाँ आफन्तको उत्थानमा मात्र लाग्नुभयो। प्रतिनिधिसभातर्फ उहाँको के होला म भन्न सक्दिनँ तर प्रदेशसभातर्फ महिला उम्मेदवार राधाको जित सुनिश्चित छ,’ उनले भने।

राधाले पनि थारु महिलाहरुको मत आफूलाई आउने बताइन्। ‘यो क्षेत्रमा म एक्लै महिला उम्मेदवार हुँ। त्यो पनि उत्पीडनमा परेको थारु समुदायकी उम्मेदवार हुँ। यस क्षेत्रमा थारु समुदायको बाहुल्य रहेको छ। थारु समुदायले मलाई अत्यधिक मत दिएर जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले थारुवानसँग भनिन्।

आसन्न निर्वाचनको मौन अवधि सुरु हुँदैगर्दा उनले थपिन्, ‘अहिलेका मतदाता चेन्ज चाहिरहेका छन्। त्यसैले मतदाताका लागि म पहिलो रोजाइमा पर्छु। मेरो क्षेत्र पनि थारु समुदाय बाहुल्य रहेकाले मेरो समुदायको मत मलाई आउनेमा म ढुक्क छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *