कञ्चनपुर २(१) मा नागरिक उन्मुक्ति पार्टीकी अब्बल उम्मेदवार गीता चौधरी

काठमाडौंका थारूहरूमाझ लोकप्रिय नाम हो, गीता चौधरी। काठमाडौंमा हुने विभिन्न सामाजिक काममा अग्रनि भूमिका निर्वाह गर्दै आएकी गीता चौधरी पेसाले अधिवक्ता हुन्। विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएकी उनी, एमाले सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध थिए। तर उनी एकाएक आसन्न निर्वाचनमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभाका उम्मेदवार बनेकी छन्। उनी कञ्चनपुर क्षेत्र नं २(१)मा सो पार्टीबाट उम्मेदवारी दिएकी छन्।

पेसाले अधिवक्ता र एमालेमा लागेकी उनी किन नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनिन्? एमाले रहँदा उनलाई जहिल्यै राजनीतिक गर्नबाट रोकटोक गरिन्थ्यो। ‘तँसँग कति पैसा छ र राजनीति गर्नलाई?’ यही प्रश्नको जवाफ उनले दिन सक्दैनथिन्। तर राजनीतिशास्त्रका किताबहरुमा राजनीतिक गर्न पैसा कहिल्यै बाधक नबन्ने उनले पढिन्। कसैले राजनीति गर्ने तेरो उमेर भएको छैन भन्दा उनी विश्व राजनीतिबारे बुझ्दा त्यहाँ राजनीतिका लागि कुनै पनि उमेर बाधक नहुने थाहा पाउँथिन्।

यही ज्ञानले उनले आफूलाई चुनावमा ‘एक्सपेरिन्ट’ गरेकी छन्। ‘मैले राजनीतिबारे सकेको जान्ने र बुझ्ने अवसर पाएको छ। त्यो अवसर म मेरो समुदाय र देशका लागि गर्न चाहन्छु। त्यही भएर त १८ मिहिने छोरीलाई श्रीमानको जिम्मा लगाएर चुनावमा होमिएको छु,’ उनी भन्छिन्।

उनले आफ्नो प्रमुख एजेण्डा पहिचान नै भएको बताइन्। थारु समुदायलाई प्रमुख राजनीतिक दल र राज्यले समेद विभेद्को नीति अवलम्बन गरेकाले त्यसविरुद्ध आफू चुनावमा होमिएको बताइन्। त्यसका अलवाला महिला र युवाका मुद्दा स्थापित गर्न, भ्रष्टाचारलाई रोक्न, सुशासन कायम गर्न आफ्नो उम्मेदवारी परेको उनले बताइन्।

उनले आफ्नो क्षेत्र राना थारु र थारुहरुको क्षेत्र रहेकाले पनि जित सुनिश्चित भएको बताइन्। ‘नागरिक उन्मुक्ति पार्टी पहिचान बोकेर जन्मिएको पार्टी हो। टीकापुर घटनामा राज्यले गरेको अन्यायविरुद्ध न्याय खोज्न जन्मिएको पार्टी हो। र, थारुहरुले न्याय दिन्छन् भन्नेमा म विश्वस्त छु,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *