थारू शक्ति निर्णायक मानिएको बर्दिया १ मा यसकारण हुँदैछ ठाकुर सिंह थारुको उदय

केही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने?

यी प्रश्नका कयौं उत्तर होलान्। बर्दिया १ बलियो प्रतिस्पर्धी देखिएका ठाकुरले भने पहिचानका निम्‍ति आफू चुनावमा होमिएको बताए। थारूसहित उत्पीडनमा परेका जाति समुदायका लागि आफू चुनावमा होमिएको उनले बताए। ‘पत्रकारितामार्फत् मैले धेरै विभेद्का कुरा लेखेँ। ग्रामिन समाजलाई लेखमार्फत् उजागर गरेँ। तर त्यतिमात्रले वर्गीय समानता र पहिचानको मुद्दा स्थापित हुन सकेन। एउटा पत्रकारले समाजलाई सचेत गर्न सक्छ तर विद्रोही बनाउन सक्दैन। त्यही वर्गीय मुक्तिका लागि र पहिचान स्थापित गर्न चुनावमा होमिए,’ उनी भन्छन्।

सबैभन्दा ठूलो जाति भएको जिल्ला हो बर्दिया। तर सबैभन्दा पछाडि परेका थारू पनि त्यही बर्दियामा रहेको ठाकुरको बुझाइ छ। यसअघिका नेताहरुले पटक-पटक सांसद जितेर गए पनि माखोसमेत नमारेको उनको गुनासो छ। ‘खास भन्ने हो भने यो थारु समुदायको जिल्ला हो। तर यही जिल्लामा थारूको साक्षरता हेर्नुस् कहाँ छ?,’ उनी प्रश्न गर्छन्, ‘त्यसैले अब थारुहरु जागरुक हुनुपर्छ। जबसम्म थारुहरु एक ठाउँमा उभिन सक्दैन। तबसम्म पहिचानका मुद्दा र समग्र थारु समुदायको विकास हुन सक्दैन।’

नेपाली कांग्रेसका संजय गौतम र नेकपा एमालेका लक्ष्मण ज्ञवालीसँग बराबरको टक्करमा रहेका ठाकुरले यस क्षेत्रमा निर्णाक मत थारुको रहेको बताए। ‘यस क्षेत्रमा निर्णायक शक्ति भनेको थारु हो। थारुहरुले ठूला दल भनिएका नेताहरुसँग पटक-पटक ठगिएको महसुस गरिसकेका छन्। बर्दियामा अब नागरिक उन्मुक्ति पार्टीको उदय हुनेछ,’ उनी भन्छन्।

उनले त्यसबाहेक सुशासन, आत्मसम्मान र समृद्धिलाई चुनाबी एजेण्डा बनाएका छन्। भ्रष्टाचार, बेरोजगारलाई पनि उनले प्रमुख एजेण्डाकै रुपमा अघि सारेका छन्। उनी भन्छन्, ‘हामी आदिवासी जनाजाति, दलित, मधेसी, मुस्लिमलगायत राज्यद्वारा पछाडि पारिएका विभिन्न जाति र समुदायहरूले अब देशमा जातीय पहिचानको मुद्दालाई राजनीतिको मूल मुद्दा बनाएर अघि बढ्नु आवश्यक छ।’

उनले अहिले नेताहरूले विकासका नाममा बाटो, पुल र मठमन्दिर मात्र बनाएको आरोप लगाए। ‘तीन ठूला दलहरूले विकासका नाममा केवल बाटो बनाउने, पुलपुलेसा निमार्ण गर्ने र मठमन्दिर बनाइदिने भ्रम सिर्जना गरिदिएका छन्। यी कुरा आवश्यक हो। तर यिनै कुराहरुलाई राजनीतिको मुद्दा बनाउँदै जनतालाई सधैं भ्रमित गराउनु जायज होइन। के बाटो, पुल पुलेसा र मठमन्दिरमात्रै विकासका विषय हुन्। यी त आधारभूत आवश्यकतामात्र हुन्। विकास त मान्छेले जानेको सिपलाई बजारीकरण गर्नु हो,’ उनी थप्छन्।

उनले समुदायले जानेको सीपलाई मान्यता दिएर राष्ट्रिय मुद्दा बनाउनु नै विकासको गतिलाई अगाडि बढाउनु रहेको बताए। तर नेताहरूले विकासका नाममा जनतालाई केवल भ्रममा राखेको उनको भनाइ छ। नेताको भ्रममा नपर्न उनले बर्दिया क्षेत्र नं. १ का जनतालाई आग्रह गरे।

‘चुनाव जीत्नका लागि पैसा हैन जनताको साथ र समर्थन चाहिन्छ। ५-१० हजार दिएर म जनतालाई भ्रमको ललिपप दिन सक्दिनँ। मैले दिने भनेको मेरो गाउँघरमा आफनो श्रम गरेर बँचिरहेका किसानलाई उनीहरुको श्रमको एजेण्डा दिने हो। त्यही एजेण्डाले नै ग्रामिण स्तरबाट विकासको मूल फुटाउने हो। यिनै कुराहरु हामीले अभियानकामार्फत् जनतालाई सचेत गराइरहेका छौं,’ उनले भने।

उनले राज्य मुक्त कमैयालाई सधैं कमैया बनाउने नीति लिएको बताए। आफू त्यसका लागि लड्ने उनले बताए। ‘मलाई लाग्छ, मुक्त कमैयालाई ५ कठ्ठा जग्गा दिनुको कारण यस्तो छ, मुक्त कमैयालाई ५ कठ्ठा जग्गाले कहिले खान नपुगोस्, जग्गा कहिले बिक्री गर्ने नदिने नियम बनाएर जग्गा छोडेर कहिले नजाउन, बैंकमा पूर्जा राखेर ऋण नपओस् र व्यापार गर्न नपओस्र , अन्त्यमा सधैं कमैया बनिरहुन्,’ उनी भन्छन्।

उनले निर्वाचनको पूर्वसन्ध्यामा प्रतिस्पर्धीहरुले भ्रम फैलाइरहेको आरोप लगाए। उनले सत्ता गठबन्धन र एमालेका उम्मेदवारले आफूले उनीहरुलाई समर्थन गर्ने भ्रम फैलाएको उनको भनाइ छ। ‘गठबन्धन र एमालेका नेता र कार्यकर्ताहरुलाई मेरो चुनौती छ, दम छ भने आउनुस् खुलारुपमा बर्दियाको विकासका मुद्दामा बहस गरौं। दम छैन भने गठबन्धनले ठाकुर सिंह थारु एमालेलाई र एमालेले कांग्रेसलाई समर्थन गर्दैछ भनेर वहियात तर्क र भ्रमको खेती गर्न बन्द गर्नुस्। मसँग तर्क गर्न नसक्ने एमाले र गठबन्धनका नेताले मलाई किन्ने अवकात राख्न सक्दैन,’ उनी भन्छन्।

उनले आफू कान्तिपुर दैनिकको स्थायी जागिर र जीवनभरि कमाएको सर्वस्व गुमाएर पहिचानको मुद्दा बोकेर निर्वाचनमा होमिएको स्पष्ट पारे। ‘म कान्तिपुरको स्थायी जागिर र जिवनभर कमाएको सर्वस्व  गुमाएर पहिचानको मुद्दा बोकेर निर्वाचनमा होमिएको छु। पहिचानविरोधी गठबन्धन र एमालेलाई सहयोग गर्नु त के सोच्न पनि सक्दैन। आम मतदातामा अनुरोध, कूप्रचार र भ्रममा नपर्नुहोला। एक भोट पाए पनि पहिचानविरोधी पार्टी र नेतासँग मेरो कुनै सम्झौता हुन सक्दैन,’ उनी थप्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *