गच्छदार जितेर गए पनि संसद छिर्न पाउँदैनन् : केपी ओली

मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्। गच्छदारसँग चुनावी प्रतिस्पर्धामा सक्रिय रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिखो कटाक्ष गर्दै बिजयलाई चुनाव जिताएर पठाएपनि कुनै अर्थ नहुने बताए।

बिजय ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन्। बिजयसँग एमालेकी भगवती चौधरी तेस्रोपटक प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छिन्। ‘यसपटक कस्तो उम्मेदवारलाई जिताउने? जनताले फैसला गर्नेछन,’ बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘काँग्रेसको उम्मेदवार जिताएर पठायो, मुद्दा लाग्छ। जनताको प्रतिनिधी लुकेर हिड्छ, त्यसमा पनि हवाल्दारसँग। जसले गर्दा यसपटक जनताले कर्मठ महिला भगवतीलाई न्याय गर्छन्।’ ओलीले लोभिने कुरादेखि लोभिने र नगर्ने काम गर्नेलाई पटक–पटक जिताउँदा केही उपलब्धी नभएकाले गर्दा यसपटक विकासप्रेमी व्यक्तिलाई जिताउँन आग्रह गरे।

बिजय यसपटक काँग्रेस नेतृत्वको गठबन्धनबाट र भगवती एमाले–जसपाको गठबन्धनबाट उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका हुन्। गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘काँग्रेसले प्यूठानमा एउटा सिट जित्ने मोहन विक्रमको पार्टीसँग गठबन्धन गर्छ, गलत बाटोमा हिड्ने लोसपाले यसपटक एउटा सिट जित्न गाह्रो छ, अघिल्लो चुनावमा सकि सकेको माओवादीलाई औला समातेर तारि दिए, सुनसरी क्षेत्र नं. ३ मा सेटिङ्मार्फत धरौटीमा छुटेको उम्मेदवार छन्।’

नेता ओलीले गच्छदारले सँधै धाँधली गरेर चुनाव जितेको आरोप लगाए। बिजयले २०४८ सालयताका कुनै पनि निर्वाचनमा हार बेहोनु परेको छैन्। ‘राणा शासन र राजतन्त्र फाल्यौ, अब सधैभरी बिजयले धाँधली गरेर चुनाव जित्ने?’ ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘यसपटक एउटा आँखा झिम्मिक पर्दा अर्को खोली हाल्नुहोस्। बाक्सको पुरै निगरानी गर्नुहोस्।’

बिजय ललिला निवास जग्गा प्रकरणमा मुछिएकोमा चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओलीले नै फसाएको जनतासामु प्रष्टिकरण दिइ रहेका छन्। यही प्रसंगमा ओलीले भने, ‘बेठीक गर्ने बेलामा गर्ने अनि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने? त्यसो भए त देशभरका कतिलाई मुद्दा लगाउँथे होला नि।’ उनले व्याङ्य गर्दै आफू मुद्दा लगाउने कुनै पनि ठाउँ न प्रहरी, न सरकारी वकिल कार्यालय वा अन्य कुनै निकायमा नभएको बताए।

ओलीले अहिले भ्रष्टाचारहरु बडो छटपटाएको जिकिर गरे। ‘केपी ओली प्रधानमन्त्री हुँदा देश छाडेर हिड्नुपर्छ भनेर केही केही भन्न थालेका छन,’ उनले भने, ‘गल्ती गरेको छैन भने डराउनु पदैन्। गल्ती गर्नेलाई राज्यका संयन्त्रले कारबाही गर्छ।’

ओलीले एमालेको सरकार आए १ वर्षमा नागरिकता समस्या समाधान गर्ने जिकिर गरे। ‘नेपालीलाई नागरिकता दिन एमालेले रोकेको छैन, विदेशीलाई नागरिकता दिनु हुँदैन मात्र भनेको हो, एमालेको सरकार भएपछि सबै योजना बनाएर अघि बढ्छ,’ उनले भने।

बिजय काँग्रेसमा छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भएका थिए। उनी २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नं. ३ बाटै, २०७० र २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। नेता बिजयले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *