नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितमाथि मध्यरातमा ढुंगामुढा

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं कैलाली क्षेत्र नं १ की प्रतिनिधिसभा उम्मेदवार रञ्जित श्रेष्ठ चौधरीमाथि ढुंगामुढा भएको छ। आइतबार राति पार्टी टीकापुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुतिरहेको अवस्थामा अध्यक्ष चौधरीमाथि ढुंगामुढा भएको हो।

‘पार्टी अध्यक्ष सुतिरहेको अवस्थामा विरोधीहरूले मध्यरातमा करिब एक घन्टा ढुंगा प्रहार गरेका छन्। यसबारे हामीले प्रशासनमा जानकारी गराए पनि उहाँहरू यस कुरामा सिरियस देखिनुभएन,’ पार्टी प्रवक्ता दामोदर पण्डितले भने।

अघिल्लो निर्वाचनमा रेशम चौधरी जितेको उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा चार पालिकासहित ९९ जनप्रतिनिधिलाई जिताउन सफल भएको थियो। सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले पकड बनाएको छ। त्यही भएर विरोधीहरुले ढुंगामुढा गरेको प्रवक्ता पण्डितको भनाइ छ।

केही दिनअघि पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु चढ्ने कारको सिसा फुटाइएको थियो। नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५७ जना उम्मेदवार उठाएको छ।

कैलाली क्षेत्र नं १ मा रेशम चौधरीकी पत्नी रञ्जितासँगै नेपाली कांग्रेसबाट रामजनम चौधरी र एमालेबाट तपेन्द्र रावल चुनावी प्रतिस्पर्धामा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *