काठमाडौं क्षेत्र १(१)की उम्मेदवार शान्ति चौधरीको घोषणापत्र- अपराध गर्नेलाई मृत्युदण्ड

काठमाडौं-१ ‘क’ का नेपालका लागि नेपाली पार्टीकी प्रदेशसभा सदस्य उम्मेदवार शान्ति चौधरीले घोषणापत्र सार्वजनिक गरेकी छन्। नेपालका लागि नेपाली पार्टीले ठूला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुको जनताद्धारा गठित नागरिक आयोगबाट छानबिन गर्ने,

युवालाई ५० लाख सम्मको बिना धितो ऋण दिने, फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गरी निश्चित् स्थानमा व्यवसाय गर्न पाउने हकका लागि पहल गर्ने, निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने, राज्यका कुनै पनि पदाधिकारीले ५० लाखभन्दा बढी मूल्यका गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्नेलगायतका प्रतिवद्धता उनले घोषणापत्रमा उल्लेख गरेकी छन्।

६६ वर्षीया शान्ति चौधरीले आर्थिक मन्दीमा पुगेको देशको अवस्था सुधार गर्नको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन्। उनले भनिन्, ‘संविधानमार्फत् ल्याइएका सबै कुरा देशले धान्न नसक्ने अवस्था भएको छ। देश आर्थिक अवस्थाको हिसाबले पनि मन्दीमा पुगिसकेको छ। त्यसबाट देशलाई पार लगाउनको लागि मैले उम्मेदवारी दिएको हो।’

उनले चुनावलाई खरायोको दौडको संज्ञा दिइन्। उनले भनिन्, ‘जहाँ शक्ति धनको प्रभाव हुन्छ। मतदातालाई आफ्नो पक्षमा लिन शक्तिशालीहरुले आफ्ना दलबाट भयभित पार्न अनेक दबाब पनि सिर्जना गर्छन्।’ पछिल्लो समय युवा पुस्तालाई भोट दिने लहड चलिरहेको बेला आफूसँग पैसा नभए पनि चुनावमा होमिएको उनले स्पष्ट पारिन्। कमजोर भए पनि सक्षम उम्मेदवारलाई सबैले साथ दिनसमेत उनले आग्रह गरिन्।

थारुभाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरीले चौधरी नेपालको कानुनअनुसार ज्येष्ठ नागरिक भए पनि उनी विचार र भावनाले युवा भएको बताए। चौधरीले सिर्जना विकास केन्द्रको संस्थापक भएर सामाजिक सेवा सुरु गरेको उल्लेख गर्दै उनले पछिल्लो समय कानुन विषय अध्ययनरत रहेको सुनाए। चौधरीले काठमाडौंमा महिला हिंसाविरुद्धमा विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरेको भन्दै उनले बहुमुखी प्रतिभाको धनीको संज्ञा दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *