मोरङ-४ मा जब ‘हर हर मोदी, घर घर मोदी’को नारा घन्कियो

बिहानको ७ बज्दै थियो। मोरङको कटहरी-४ स्थित मुस्लिम बस्तीमा एउटा गाडी घ्याच्च रोकियो। मे१च ६८६८ नम्बरको सेतो स्कारपियोबाट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीसहित केही कार्यकर्ताहरू ओर्लिए।

गाडीबाट झर्ने बित्तिकै उनी जनताको घरदैलोतर्फ लागे। मोदीको पछाडि कार्यकर्तासहित केही स्थानीयले हर हर मोदी, घर घर मोदीको नारा घन्काउँदै थिए।

मोदीले यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचन जितेका थिए। स्थानीयको नाराले पनि मोदीले पछिल्लो ५ वर्षमा गरेका कामको स्पष्ट बिश्लेषण गरिरहेको थियो। उनी एक स्थानीयको घरमा प्रवेश गरे। घरमा एक वृद्ध थिए।

नम्र शैलीमा उनले सोधे, ‘यी बेर भोट देबि कि नै? हम अमनलाल मोदी। फेरो एकपटक चुनावमे उठल छियो।’ ‘नागरिकता दिलैबो बोल्ने छेलि। कहाँ एलै त नागरिकता? भन्दै ६८ वर्षीय मन्टु शेखले प्रश्न तेर्‍स्याए।’

मोदीको आश्वासनप्रति सन्तुष्ट हुँदै मन्टुले हँसिया हथौडामा भोट दिने प्रतिबद्धता जाहेर गरे। त्यसपछि मोदी मुस्लिम टोलका अन्यको घरदैलोमा भोट माग्न हुँइकिए। बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका अमनलाल मोदीले यसअघि पनि क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए।

दोस्रो कार्यकालका लागि उनले पुनः एकपटक उम्मेदवारी दिएका छन्। संविधानसभा सदस्यसमेत रहेका उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

मोरङको कटहरी गाउँपालिकाको वडा नं. १ देखि ७, ग्रामथानको १ देखि ७, बेलबारीको ५, ६ र ७ तथा विराटनगरको १, २, ३, ८, १० र १९ उनको निर्वाचन क्षेत्र हो। बिहान ६ बजेदेखि राती १२ बजेसम्म उनी जनताको घरदैलोमै भेटिन्छन्।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने, अन्तर्राष्ट्रिय खेलमैदान निमार्ण गर्ने र गाउँलाई सहरसँग जोडने लगायतका विषय उनको चुनावी एजेण्डा छन्।

मंगलबार उनले भने, ‘प्रमुख सहरहरूको सूचीमा विराटनगर छैठौं स्थानमा पुगिसकेको छ। विराटनगरलाई मुलुककै प्रमुख सहर बनाउने प्रतिबद्धता मैले गरेको छु। त्यसका निम्त्ति आवश्यक कार्ययोजना र भिजन म सँग छ।’

बिहानै ५ बजे उठेर घरदैलोको सुरसारमा लाग्ने गरेका मोदी कहिले राति १२ त कहिले १ बज घर फर्किन्छन्। बिहानदेखि बेलुकीसम्म उनी जनतासँगै हुन्छन्।

पछिल्लो ५ वर्षमा समाधान हुन नसकेका समस्या टिपोट गर्दै उनले अहिले घरदैलोलाई तीव्रता दिइरहेका छन्।

‘भोट माग्न जाँदा जनताले गुनासो पनि गर्छन्,’ उनले भने, ‘जनताको गुनासोलाई स्वभाविक लिएको छु। हामीबाट पनि केही गलतीहरू भएका छन्। त्यसलाई स्वीकार गर्दै पुनः जनतालाई विकासको अनुभूति दिलाउने अठोटसहित चुनावी मैदानमा छु।’

पछिल्लो ५ वर्षको कार्यमूल्यांकनका आधारमा जनताले आफूलाई नै मतदान गर्ने मोदी बताउँछन्। मोरङ क्षेत्र नं. ४ मा यसपटक नेकपा एमालेका उम्मेदवार विनोद ढकाल उनको प्रमुख प्रतिस्पर्धी छन्।

-अन्नपूर्णबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *