देउखुरी बन्यो ढकियामय, घरदैलो अभियानलाई तिव्र पार्दै सुरेन्द्र चौधरी

दाङको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरीले वाम लोकतान्त्रिकका उम्मेदवार मेटमणि चौधरी र नेकपा एमालेकी उम्मेदवार शान्‍ता चौधरीलाई कडा चुनौती दिएका छन्।

उनले देउखुरीका प्रत्येक गाउँमा घरदैलो कार्यक्रम आयोजना गरिरहेका छन्। स्वतस्फुर्तरुपमा जनताहरु आफ्नो पक्षमा लागेको सुरेन्द्र चौधरीको दाबी छ। ‘देउखुरीका जनताले भिजन भएका नयाँ नेता खोजिरहेका छन्। पढेलेखेका र शिक्षित नेतासँग मात्र गाउँ समाज परिवर्तन गर्ने भिजन हुन्छ। सुरेन्द्र चौधरीमा मैले त्यो देखेको छु। त्यही भएर उहाँको पक्षमा भोट माग्न हिँडेको हुँ,’ स्थानीय जागुराम थारुले बताए।

उनले देउखुरीका जनताले मेटमणिलाई परीक्षण गरिसकेको बताए। ‘मेटमणिलाई हामीले परीक्षण गर्‍यौं। उहाँबाट अपेक्षा गरेअनुसार देउखुरीको विकासमा कुनै परिवर्तन आएन,’ उनी थप्छन्, ‘शान्ता चौधरी चौधरी पनि पटक पटक सांसद बनेकै हुन्। उनले आफ्नै कमलरीकै मुद्दामा पनि त्यति सशक्त देख्नुभएन।’ देउखुरीका जनताले त्यही भएर नयाँ अनुहार खोजिरहेको उनले बताए।

वैकल्पिक राजनीतिक अभियानमा सम्बद्ध सुरेन्द्र चौधरी टीकापुर घटनाका राजबन्दी रिहाइको लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। कूटनीतिक क्षेत्रमा लामो समय विताएका उनले राजनीति र समाजलाई राम्रोसँग बुझेका छन्।

उनले आफ्नो मुख्य प्रतिस्पर्धी पनि गठबन्धन नभइकन एमाले रहेको बताए। ‘गठबन्धनका उम्मेदवारसँग मेरो खास प्रतिस्पर्धा होइन। एमालेसँग प्रतिस्पर्धा हो। यो प्रतिस्पर्धामा ढकिया चुनाव चिन्हले स्पष्ट विजय प्राप्त गर्नेछ,’ उनले भने।

देउखुरी क्षेत्रबाट प्रदेशसभातर्फ रञ्जित चौधरी र भक्तिराम चौधरीले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *