नागरिक उन्मुक्ति पार्टी साइवेरियाको पन्छीजस्तै हो : रेशम चौधरी

जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो- नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । आफ्ना पाँच दर्जन सहकर्मीमाथि लागेको झुठा मुद्दा र करिब एक दर्जन साथीहरूलाई सरकारी झ्यालखानाबाट छुटाउने दायित्व पनि यही पार्टीको काँधमा छ । साँच्चै भन्नुपर्छ ‘टीकापुर थारू विद्रोह’का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भयो ।

टीकापुर थारू विद्रोहका कारण हामीले राज्य चिन्यौं । मानवअधिकार चिन्यौं । सरकार चिन्यौं । भन्नुपर्दा सबैलाई एकएक गरेर चिन्यौं । टीकापुर घटना कुनै एक कोठरीमा वा कुनै पहाडी गुफामा घटेको घटना होइन । त्यो घटनालाई हजारौंका आँखाले देख्यो । प्रत्यक्ष देख्यो । सत्य असत्य सबै देख्यो । तर सुनेनन् कसैले । कोट्याएर पनि यथार्थ बोलेनन् कसैले । अन्तर्राष्ट्रिय निकायको आँखामा धुलो झोँक्न राज्यले आयोग गठन ग¥यो । गल्ती आफूतिर सोझिएपछि राज्यले आयोगको फाइल सरकारी दराजमा थन्काएर राख्यो । त्यही फाइल सार्वजनिक गर्न ‘टीकापुर थारू विद्रोह’ राजनीतिकरण गर्न, झुठा मुद्दा लागेका आफ्ना सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्न सन् २०२२ फेब्रुअरी १५ तारिख अर्थात् विसं २०७८ फागुन ३ गते सोही घटनाका कारण डिल्लीबजार कारागागरमा रहेका माननीय रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।

टीकापुर थारू विद्रोहका कारण सात सुरक्षाकर्मी र एक बालकले सहादत प्राप्त गरे । हाम्रो नागरिक उन्मुक्ति पार्टी ती वीर सहीदप्रति सम्मानसहित श्रदाञ्जली अर्पण गर्दछ । ती वीर सहिदका सन्तानले पनि न्याय पाउनुपर्छ । तीमाथि व्यभिचार गर्ने तत्वको पहिचान गरिनुपर्छ साथै उक्त घटनापश्चात् टीकापुर वरिपरि थारू गाउँमा गरिएको बर्बर दमन र चरम यातनाको हिसाब किताब पनि राज्यले गरिदिनुपर्छ । के टीकापुर थारू विद्रोह कुनै लडाकु बन्द क्याम्पभित्र गरिएको हो ? के कसैको एकल आदेशमा त्यो बर्बरतापूर्ण घटना घट्यो ? होइन । त्यो घटना देख्ने नजरहरू हजारौं थिए । भिडन्त भइरहँदा रोक्ने, छुटाउने पनि हजारौं थिए र घाइतेहरूलाई बोकेर अस्पताल पु¥याउने पनि उतिकै थिए । ती सब राज्यलाई थाहा छ । राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदनमा ती सबै कुरा उल्लेख छ । तैपनि राज्य मौन छ । आखिर त्यो फाइल नखोल्नुमा के रहस्य छ ?

हजारौं नजरले देखेको त्यो दूर्भाग्यपूर्ण घटना
कसले पो गरेन र त्यो घटनाको आलोचना
घटना घटेकै हो, आँखाहरूले देखेकै हो
र पनि किन हुँदैन, त्यो घटनाको यथार्थ विवेचना ।

आखिर टीकापुर थारू विद्रोहलाई राज्यले राजनीतिक आन्दोलन किन मान्दैन ? विनाकारण निर्दोषलाई किन थुनिरहन्छ राज्यले ? त्यो घटनाका कारण थारूहरूले आन्दोलन तुहाए । विनाकारण चरम यातना र बर्बर दमन सहे । त्यति अन्याय गरेर पनि चित्त बुझाएन राज्यले । थारूहरूको पहिचानसहित संघीयताको मागलाई लत्यायो राज्यले ।

उद्देश्यसहितको आन्दोलन, बनाइयो विना उद्देश्यको
विशेषण अपुरो हुन्छ ब्याकरणमा, विना विशेष्यको
न तराजुसम्म भो, न त मागको झोली भरियो
भिजेनन् पैताला पनि, हरे कस्तो खोली तरियो ?

दृश्य एउटा थियो बनाइयो दृश्य अर्कै
कथा एउटा थियो, पटकथा लेखियो अर्कै
खुल्ने हो कहिले प्रतिवेदन त्यो लालको
नखुलेरै जेलमा बेहाल भो रेशम लालको

भौगोलिक सांस्कृतिक पहिचानसहतिको संघीयता माग्दा अहिले धेरै लोकतन्त्रवादी नेताको टाउको दुख्छ । भूगोल, धार्मिक पहिचानका विषयमा फुस्रो अडान लिएर मभन्दा ठूलो कोही राष्ट्रवादी छैनन् भनेर देखाउने यिनको प्रवृत्ति छ । हामीले पहिचानको विषय उठान गर्नेवितिकै यी हामीलाई देशद्रोही देख्न थाल्छन् । तर जागजाहेरै छ, विगतदेखि वर्तमानसम्मको सबै आन्दोलनमा हामी यिनैको साथमा छौं ।
अहिले परिस्थिति फेरिएको छ । आगत विगत सबै जननिर्वाचन हामी जित्दैछौं र पनि राज्यले हाम्रो अभिमतलाई मत मान्दैन । उसको नजरले सहयात्री दोषी भए पनि निर्दोष हुन्छन् । चुनौती दिनसक्ने क्षमतावान नेताहरू निर्दोष भए पनि कालकोठरीमा थुनिन्छन् ।

एक चुनाव जित्यौं, दुई चुनाव जित्यौं
सबै चुनाव हामीले नै जित्यौं
जनताले न्याय दिएको देख्दैनरैछ राज्यले
दोषी आफैंमा सामेल गराई निर्दोषी थुन्दोरैछ राज्यले

मर्ने मार्ने दुबैलाई चिन्याछ राज्यले
घटना देख्न्या दुई चार मान्छे किन्याछ राज्यले
सरकार चलाउने साँचो आफूसँग नभएपछि
एकदिन देश कसैलाई सुम्पिदिन्याछ राज्यले

जसले जनता मारिरहन्छन् उनै चुनावमा खडा छन्
अरू सबलाई सानै ठान्छन् उनै जहिल्यै बडा छन्
कयौंको त्याग प्रष्ट छ सयौंले फटाए भोटो पनि
जहिल्यै टिकट उनैको भागमा दिइरहन्छ पार्टीले मोटो भनि

राज्यले जारी गरेको ‘नेपालको संविधान २०७२’ अपूर्ण छ । देशको संविधान सर्वमान्य, सर्वपक्षीय हुनसकेन भने राज्यको संरचना परिवर्तन हुन रत्तिबेर लाग्दैन । हाम्रो नागरिक उन्मुक्ति पार्टी चाहन्छ, संविधान सर्वहिताय हुनुपर्छ । कानुन, नीति निर्माण गर्नेहरू पनि एक पक्षीय एक समूह बनाइनु हुँदैन । विभेदित संविधानले विग्रह उत्पन्न गर्छ । जातीय एकल नश्लवादको सबैभन्दा विरोधीहरूले नै संविधानतः यो देशमा एकल राज्य संरचना लागू गर्न खोजेका छन् । यो कुराको जोडदार आवाजको साथै सर्वपक्षीय, सर्वहिताय, सर्वमान्य संविधान निर्माणमा हाम्रो नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

वास्तविकता
जब-जब चुनाव आउँछ, नेताकी श्रीमतीले ढकुटीको साँचो पुछ्न थाल्छिन् । नेताजीलाई नातागोता याद आउन थाल्छ । बाको गम्छा, आमाको पछ्यौरी, भुराभुरीलाई नाना सम्झिन थाल्छन् उनी । चुनावको बेलामात्रै उसको नजरले गाउँको बाटो विग्रिएको देख्छ । पुल पुलेसा भत्किएको देख्छ । स्कुले टिनको छानो खिइएको देख्छ । ऊ प्रत्येक चुनावमा भतेर गर्छ । भोजमा सबैलाई आमन्त्रण गर्छ । मदिरा पिलाएर झुमिएको बेला प्रत्येक चुनवमा एउटै सपना बाँड्छ– गाउँ समृद्ध बनाउने, सहर स्मार्ट बनाउने र देशलाई अमेरिका, युरोप बनाउने । ऊ कहिल्यै छाती ठोकेर भन्दैन, म नेपाल बनाउँछु । मेरो गाउँ, बनपाखा, पखेरा जस्तो थियो, उस्तै बनाउँछु । अहँ, ऊ भन्दै भन्दैन, मेरो गाउँ पौराणिक बनाउँछु । बरू माइकको हरण फुट्ने गरी चिच्याई चिच्याई भन्छ, ‘म देशलाई स्वीट्जरल्यान्ड बनाउँछु ।’

ऊ सधैं सोझा गाउँलेहरूलाई सपनामात्रै बाँडछ । प्रत्येक चुनावमा जनता ढाँट्छ । गाउँ छेउँको बग्ने खेला देखाएर भन्छ– यो खोलाबाट विजुली निकालेर गाउँ, सहर झिलिमिली पार्छु । उद्योग, कल कारखाना चलाउँछु । बचेको विजुली विदेशमा बेच्छु ।
वास्तविक देखिने डाँडा देखाएर नेताजीले सपना बाँडछन्, ‘अब यही डाँडामा केवलकार चलाउने हो ।’ हाँसो त तब छुट्छ, जब कम्मरमुनि पान्ी बग्ने खोला देखाउँदै नेताजीले भाषण गर्छन्– ‘यी नदीहरूमा पानी जहाज चलाउँछु ।’

अब त हामीलाई पनि जनता ढाँट्ने नेता मन पराउने बानी भइसक्यो । जुन नेताले बढी ढाँट्छ, उही हाम्रो सर्वोच्च नेता । जसले प्रत्येक चुनावमा ढाँट्छ, उही सबैभन्दा पुरानो पार्टी । ढाँट्दा ढाँट्दा सताब्दी पुर्‍याउनै लागेका तिनै राजनीतिक पार्टीचाहिँ हाम्रो नजरमा ऐतिहासिक दल बनेको छ ।

हाम्रा राजनीतकि दलहरूले नीति, विधि, पद्धतिको कुरा गर्छन् । विधानमा लेख्छन् । कार्यकता प्रशिक्षणमा विदेशीबाद पढाउँछन् । सिद्धान्तका पंक्ति घोकाउँछन् । तर के, हाम्रो देश बनाउन आजसम ती नीति, बाद, सिद्धान्त लागू भएको छ ? हामीले कुन विदेशी नेताको बाद खोज्ने हो ? कुन देशको नीति, सिद्धान्त लागू गनूपर्ने हो ? हामीले हाम्रै देश बनाउने नीति, सिद्धान्त, बाद लागू गर्ने पार्टी र नेता किन खोज्दैनौं ?
समाजमा सबैभन्दा बढी शोषक नेतालाई हामीले समाजवादी नेता भन्छौं । साम्यवादी नेताको दैलो नै सबैभन्दा बढी सुनचाँदीले सिंगारिएको छ यहाँ ।

नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको सिद्धान्तलाई अवलम्बन गर्ने नीति हाम्रो उदाउँदो नागरिक उन्मुक्ति पार्टीले लिएको छ । यो हाम्रो २०७९ प्रतिनिधिसभा एवं प्रदेशसभाको घोषणा पत्र हो । तर हामी दर्जनौं पाना जनतालाई बेवकुफ बनाउने शब्द खर्चिदैनौं । हामीले गर्नसक्ने सम्भव कुरामा मात्रै जोड दिन्छौं । गरेर देखाउन सकिनेजति मात्रै बोल्छौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ । भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा, फेवा, घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला । तर गन्तव्य निश्चित छ, साइवेरियाको पन्छीजस्तै ।

नागरिक उन्मुक्ति पार्टीको चुनावी घोषणा पत्रमा साइवेरियाली पन्छीको कुरा कहाँबाट आयो भनेर तपाइँहरू अचम्म मान्नुहोला । प्रत्येक वर्ष साइवेरिया लेकबाट लाखौं पन्छीको झुण्ड संसार विचरण गर्न निस्कन्छन् । त्यसरी उडेका पन्छी कोही उड्दाउड्दै समुन्द्रमा खस्छन् । कोही विरामी भएर बाटोमै मर्छन् । कोही बाटो भुलेर भड्किरहेका हुन्छन् । मर्ने पन्छीहरूको कथै समाप्त भो तर बाटो भुलेर भड्किरहेका हजारौं पन्छीहरूलाई साइवेरियाली पन्छीले पुनः घर लगेर जान्छन् । हाम्रो पार्टी पनि त्यही लक्ष्यमा छ । यहाँ गन्तब्यविहीन, लक्ष्यविहीन, अर्थविहीन राजनीतिक दलहरूको दबदबा भयो । यिनलाई भड्किएको, भुलेको बोटोबाट सही दिशा निर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।




Leave a Reply

Your email address will not be published.