४०० मिटर दौडमा रमिता थारुलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नेपाल एपीएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन्।

उनले सन् २०१९ मा चीनको वुहानमा तुलासा खत्रीले राखेको ५९.५७ सेकेन्डको कीर्तिमानलाई तोडेकी हुन्। यस स्पर्धामा आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन्। एपिएफकी कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेन्डमा दुरी पुरा गर्दै कास्य जितिन्।

पुरुषतर्फ यही विधामा विभागीय त्रिभुवन आर्मीका क्लबका सोम बहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका छन् । सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

सोमले ३२ वर्षअघि आशाराम चौधरीले सन् १९९० मा चीनको बेइजिङमा राखेको ४८.३२ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन्। एपिएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य जित्न सफल भए। -हाम्रो खेलकुद डटकम साभार/तस्बिर : अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *