थरुहट प्रदेश बनाउने शक्ति नागरिक उन्मुक्तिसँग छ : रञ्जिता चौधरी श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले थारुवान/थरुहट प्रदेश निर्माण गर्ने शक्ति नागरिक उन्मुक्ति पार्टीसँग मात्र भएको बताएकी छन्। उनले लेखराज प्रवृत्तिका मान्छेहरुकै कारण थरुवान प्रदेशको एजेण्डा अलपत्र परेको बताइन्।

‘नागरिक उन्मुक्ति पार्टी जन्मिनुको कारण भनेको सयौं वर्षदेखिको उत्पीडनका विरुद्ध कोही पनि संगठित शक्ति नलागेर हो। हिजो जनयुद्धको प्रस्तावमा अगाडि बढेको थारुवान प्रदेशसमेत एमाले, कांग्रेस र माओवादीभित्रकै लेखराज प्रवृत्तिका मान्छेले असफल बनाएपछि अलपत्र रहेको थारुवान/थारुहट प्रदेशको माग एक बलियो संगठित शक्तिले मात्र उठान गर्न सक्थ्यो। जुन शक्ति आजको नागरिक उन्मुक्ति पार्टी बनेको छ,’ उनले भनिन्।

उनले नागरिक उन्मुक्तिको शक्तिलाई कमजोर बनाउन भ्रमात्मक दृष्टिकोण प्रहार भइरहेको बताइन्। उनले नागरिक उन्मुक्तिको एजेन्डा टीकापुर राजबन्दी रिहाइसँगै थारुवान प्रदेशभित्र रहने सबै जातजातिको पहिचान र अधिकार स्थापित गर्नु रहेको बताइन्। ‘हाम्रो शक्तिलाई कमजोर बनाउन र त्यो आवश्यकतालाई छिन्नभिन्न पार्न आज विभिन्न भ्रमात्मक दृष्टिकोणबाट प्रहार गरिँदै छ। हामी थारुवान प्रदेशभित्र अन्य जातजातिको अधिकार र पहिचान पनि ग्यारेन्टी गर्छौ नै। त्यो गर्नु पनि पर्छ किनकि यो देश सबैको हो,’ उनले भनिन्।

उनले विगतमा केही थारु नेताको उदाहरण दिएर थारुहरुलाई झुक्याउने प्रयाससमेत भएको बताइन्। ‘दुई चार जना थारु नेतालाई देखाएर समग्र थारु समुदायको प्रतिनिधित्व भयो भनी झुक्याउने प्रयासलाई पनि असफल पार्ने नै छौं! रेशम रिहाईको मागमात्रै हामीले उठाएका छैनौं। नेपालभरि रहेका अल्पसंख्यकको हकहित, पहिचान र अधिकार पनि हुनैपर्छ भनी हाम्रो धारणा राखेका छौं। हामी रेशमलगायतका राजबन्दीको रिहाइदेखि अल्पसंख्यकको अधिकारका लागि संगठित शक्ति हौं। हाम्रो स्थान कांग्रेस, एमाले र माओवादीले लिन सक्दैनन्,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *