मोरङ-४ : एक आम अमनलाल मोदीको ह्याट्रिक गर्ने दाउँ

नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी तेस्रोपटक सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनावमा नेपाली कांग्रेसका हेभिवेट नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीले यसपटक एमालेसँग प्रतिस्पर्धा गर्दैछन्। मोदीले एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन्।

सत्तारुढ दलबीच गठबन्धन भएको यो निर्वाचन मोदीका लागि झनै सहज भएको छ। थारु बाहुल्य क्षेत्र रहेको मोरङ क्षेत्र नं ४ कांग्रेस र माओवादीको पकड क्षेत्र पनि मानिन्छन्। मोरङका एमाले नेता भलभद्र थारु हालै माओवादीमा प्रवेश गरेका थिए। यसले पनि मोदीलाई सहज बनाएको माओवादी नेताहरु बताउँछन्।

मोदीको क्षेत्रमा ६ जना स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ। जसमा दुई जना थारुहरु रहेका छन्। दुवै जना थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसले खासै असर नपर्ने माओवादी नेताहरु बताउँछन्।

अमनलाल मोदीको राजनीतिक यात्रा
मोरङ डंग्राहा गाविस ३ मा जन्मिएका मोदी प्रभावशाली नेता मानिन्छन् । सानैमा बाबु गुमाएका मोदीलाई हाल ६७ वर्षकी उनकी आमा बालोदेवी मोदी (थारू) ले निकै दुःख गरेर हुकाइन् । उनी यही निर्वाचनमा उमेदवार छँदा पनि आमा सामान्य आलु चपको व्यापारमा लागीरहिन् । भन्नेहरू उनलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भने । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ, अरू दिन बारीको काम भए पनि हटियाको दिन आलुचप-प्याजी बेच्न आउँछु’, उनले भनिन्, ‘आलुचप बेचेरै हो सकी नसकी त्यो कान्छो छोरो अमन र छोरीलाई पढाएको ।’

अमनलालका पिता पवनलाल हटिया घुमेर चामल बिक्री गर्थे । उनी वर्ष दिनको नाबालक छँदा २०४३ सालमा पिताको मृत्यु भएपछि आमालाई घरव्यवहार धान्न निकै गाह्रो भयो । बनिबुतो र आलुचप बिक्री गरेर छोराछोरीलाई पढाइन् । दुःखमा हुर्किएका अमनलालले डंग्राहाको नारायणी माविमा कक्षा ८ सम्म र त्यसपछि सुनसरी दुहबीको सरस्वती माविबाट विद्यालयस्तरीय पढाइ पूरा गरे । विराटनगरमा महेन्द्र मोरङ क्याम्पस पढ्थे । त्यहीबेला उनी माओवादीमा संगठित भएर भूमिगत भए । अमन पक्राउ परेर अढाई वर्ष जेल बसे । अमन पक्राउ पर्दा बालोदेवीले तीन दिनसम्म अन्न खाइनन् ।

उनको राजनीतिक यात्रा २०५६ सालदेखि सुरु भएको हो । अखिल क्रान्तिकारीको इकाइ सदस्य हुँदै राजनीतिमा लागेका मोदी २०५७ सालमा माओवादी क्षेत्रीय सदस्य बनेका थिए । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सदस्य बनेका उनी अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष हुँदै पछि अध्यक्ष समेत भए ।

अमनलाल मोदी दोस्रो संविधानसभा सदस्य निर्वाचन ०७० मा माओवादी केन्द्रबाट सांसद बनेका थिए । संसद्को सुशासन समितिका सदस्य पनि भए । उनले पार्टीको भूमिगत आन्दोलन, जेलजीवन र थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य भएर काम गरे । उनी भन्छन्, ‘मलाई अहिले पनि बालोदेवीके बेटा भनेर बोलाइन्छ । मलाई आमाले दुःख गरेर पढाएको र राजनीतिमा मैले भोगेको हन्डर सारा गाउँलेले बिर्सिएका छैनन् । मलाई स्नातकसम्म पढ्न सक्नु आमाकै मिहिनेत हो, नत्र त्यतिबेला थारूको बच्चाले कहाँ बीए पढ्थे र ?’

०५६ मा मोदीको हजुरआमाले गाउँकै एकजनाबाट १५ हजार रुपैयाँ सापटी लिएकी थिइन् । त्यो बापत जग्गा बन्धकी राखिएको थियो । हजुरआमा बितिन् । पछि आमा बालोदेवीले जग्गा उकास्न खोजिन् तर महाजनले पैसा फिर्ता गर्दा पनि जग्गा दिएनन् । क्रान्तिकारी स्वभावका र लक्का जवान मोदीलाई ‘गरिबका लागि आन्दोलन गर्ने सनक चढ्यो’ अनि होमिए माओवादी पार्टीमा । राजनीतिक जिम्मेवारीमै रहेका उनी पक्राउ परे । अनि ०६२ मा माओवादी शान्ति प्रक्रियामा आउने क्रम सुरु भएपछि छुटे ।

मोदी सम्झन्छन्, ‘मेरो राजनीतिको युटर्न त्यही १५ हजार रुपैयाँ र बन्धकी राखिएको जग्गा थियो ।’ बालोदेवी सपनामा पनि छोरोले जितेर अबिर जात्रा गरेको देख्थिन् । अब एकपटक ‘बाँसको टाटीले बेरेको घरमा जन्मिएर राजनीतिमा होमिएको छोरो मन्त्री बनेको हेर्ने रहर छ’, मोदी भन्छिन्, यसपाली चुनाव जितेर आमाको सपना पुरा गर्न मन्त्री बन्ने लाइनमा छन् अमन । अमनलाललाई आफ्नी आमाको दुःखमा मलम लगाउनु त छँदैछ, सिंगो नेपाल आमाको चर्किएको घाउमा पनि मलम लगाउनु छ । उनी भन्छन्, ‘म आफ्नो अमूल्य मतको कदर गर्नेछु ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *