नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी

गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ । आफ्नो बलियो आधार क्षेत्र मान्दै आएको कैलाली क्षेत्र–१ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

उनी अखण्ड थरुहट आन्दोलनका क्रममा टीकापुर क्षेत्रमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीकी श्रीमती हुन् । गत आम निर्वाचनमा कैलाली–१ बाट रेशम नै निर्वाचित भएका थिए । तर, अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।

श्रीमान् विजयी भएकै क्षेत्रमा यसपल्ट रञ्जिताले उम्मेदवारी दिएकी हुन् । उनले पाँचदलीय गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी र एमालेका टपेन्द्र कुँवरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । गत स्थानीय निर्वाचनमा कैलाली–१ मै पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो । टीकापुरका अधिकांश वडासहित प्रमुख र जानकीमा पनि बहुमत वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उन्मुक्तिले जित हात पारेको थियो ।

यसैगरी, नागरिक उन्मुक्तिले क्षेत्र–२ मा संघतर्फ कांग्रेसबाट प्रवेश गरेका अरुण चौधरी र प्रदेशमा २ (ख) एमालेबाट प्रवेश गरेका रतन थापालाई टिकट दिएको छ । २ (क) मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ । क्षेत्र–२ (क) मा थारू समुदायको बाहुल्य छ भने ‘ख’ मा पहाडी समुदायको । समुदायगत रूपमा बाहुल्य भएको क्षेत्रअनुसार नै टिकट दिएर नागरिक उन्मुक्तिले चुनावी प्रतिस्पर्धामा आफू अब्बल सावित हुन खोजेको विश्लेषकहरू बताउँछन् । यसअघि स्थानीय निर्वाचनमा यही क्षेत्रमा पर्ने बर्दगोरिया नगर उपप्रमुखमा उन्मुक्तिकै उम्मेदवारले जित हात पारेका थिए ।

कैलाली–३ मा गंगा चौधरीलाई उम्मेदवार बनाएको छ । युवा नेता चौधरी अहिले उन्मुक्तिका केन्द्रीय सदस्य पनि हुन् । यसैगरी, प्रदेशतर्फ ३ (क) मा घनश्याम चौधरी र ‘ख’ मा खुसीराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यही क्षेत्रमा पर्ने भजनी नगरपालिकाका अधिकांश वडासहित प्रमुख उपप्रमुख दुवै पदमा उन्मुक्तिबाटै उम्मेदवार बनेका व्यक्ति आसीन छन् ।

उन्मुक्तिबाट क्षेत्र–४ मा कैया चौधरी प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ ‘क’ मा राजेन्द्र देवकोटा र ‘ख’ मा कमलप्रसाद भाटको उम्मेदवारी परेको छ भने क्षेत्र–५ मा लक्ष्मण थारूले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदा प्रदेश ‘क’ मा गोठेराम चौधरी र ‘ख’ मा श्रीराम चौधरीलाई उम्मेदवार बनाइएको पार्टी प्रवक्ता दामोदर पण्डितले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *