रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुल्यो

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ। आयोगको प्रावधानअनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुलेको छ।

टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरी चुनाव लड्न नपाउने ब्यापक बहस भएको थियो। तर आयोगले मुद्दाको अन्तिम किनारा नलागेसम्म उम्मेदवार बन्न योग्य हुने निर्धारण गरेको छ। उसले अयोग्य हुनका लागि त्यस्तो फैसला अन्तिम हुनुपर्ने उल्लेख गरेको छ।

अयोग्यअन्तर्गतको बुँदा (ग)मा भनिएको छ, ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको।’

टीकापुर घटनासम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद फैसला सुनाए पनि उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि कैलाली क्षेत्र नं १ बाट उनी भारी मतले विजयी भएका थिए। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिँदैछिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *