थारू समुदायको पृथक दसैँ

पश्चिम तराईमा बसोबास रहेको थारू समुदायको दसैँ अन्य समुदायको भन्दा पृथक छ। अन्य समुदायले बडादसैँको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ।

थारू समुदायका जानकारहरूका अनुसार यो समुदायले पृथक तरिकाले दसैँ धुमधामसँग मनाउने गर्छन्। ‘दसैँमा विशेषगरी हाम्रो समुदायमा पितृपूजा हुन्छ,’ थारू अगुवा बलबहादुर डगौराले भने, ‘थारूमा पनि विभिन्न थरी छन्। सबैको फरक फरक चलन छ।’ उनले थारू समुदायमा दसैँको टीका पनि सेतो लगाउने प्रचलन छ। तर पछिल्लो समय यो परम्परालाई छोडेर रातो टीका लगाउन थालेको उनले बताए। ‘हाम्रो परम्पराअनुसार दसैँमा सेतो टीका पाँच ठाउँमा लगाइन्छ,’ उनले भने, ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालिसके।’

दसैँको पहिलो दिन घटस्थापनालाई ‘जिउरा ढर्ना’ दिन भनिन्छ। यस दिन बिहानै घरमूलीले पवित्र भएर रातोे माटो ल्याएर देउथान (देवता राख्ने ठाउँ) मा मकैको जमरा राख्छन्। कसैले दोस्रो दिन जमरा राख्छन्। जमरा राखेदेखि नै गाउँका सबैजना भलमन्साको आँगनमा भेला भएर रातभर सखिया नाच्ने गर्छन्।

तेस्रो दिन टेरो कुल थरका थारूहरूले पितृलाई विधिपूर्वक पूजा गर्छन् भने पञ्चमीको दिन दहित कूल थर भएका थारू समुदायले पितृपूजा गर्ने प्रचलन छ। उसलाई थारू भाषामा ‘सराढक’ दिन भनिन्छ। यो दिन महत्वपूर्ण दिन मानिन्छ। त्यसैगरी षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, तरकारीको जोहो गर्ने गरिन्छ। ‘सुकेको माछा र घरमा बनेको रक्सी बिना पितृपूजा अधुरै हुन्छ, मदिरा र माछा अनिवार्य हो,’ स्थानीयवासी देवी चौधरीले भने, ‘मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ।’

महाअष्टमीको दिन विशेषतः ढिकुरी रोटी पूजिन्छ। यस दिनलाई थारू भाषामा ‘ढिक्रहवक’ दिन भनिने उनले बताए। उनका अनुसार यस दिन सुँगुरको मार हान्ने प्रचलन छ। दिनभरि ढिकुरी बनाइन्छ। साँझपख गाउँको भलमन्साको आँगनमा गाउँका सबै भेला भएर सखिया नाचिन्छ।

यो समुदायमा नवमीको दिन अझ महत्वपूर्ण दिन हो। यस दिनलाई थारू भाषामा ‘मुर्गैहवक’ भनिन्छ। पितृपूजा गर्दा भालेको बलि दिने भएकाले मुर्गेहवक दिन भनिएको जानकारहरु बताउँछन्। कूलअनुसार मुर्गाको सङ्ख्या घटीबढी हुने गर्छ। बिहानै कुखुरा बासेपछि कुभिण्डाको भेडा छप्काइन्छ। बिहान कुखुराको बलि दिइन्छ। कुखुराको मासु, माछा, कुभिण्डो, रायोको साग र मदिरा पितृपुजनमा अनिवार्य खाना हुन्।

‘कसैले चारवटा कुखुराको बलि दिन्छन्, कसैले सातवटाको बलि दिन्छन,’ स्थानीयवासी सीता चौधरीले भनिन्, ‘विशेषगरी यो दिन पितृहरुको पूजा गरिन्छ।’ पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा छोड्ने गरेको उनले बताए। यसलाई थारू भाषामा ‘पिट्टर पुहैना’ भनिने उनले बताए। यस दिन गाउँभरिका महिलाहरू परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीसहित पिट्टर पठाउन निस्कने प्रचलन रहेको चौधरीले बताए।

दशमीका दिन घरमा पूजा गरेको जमरा र प्रसाद लगेर गाउँका भलमन्सा पुजारीलगायत ठूलाबडाको घरमा गएर आशीर्वाद लिने शिक्षिका सरिता चौधरीले बताइन्। ‘मान्यजनको घरमा टीका लगाउन पनि जान्छन्, टीका थाप्न पनि जान्छन्,’ उनले भनिन्, ‘टीकाको दिन मान्यजन, इष्टमित्र सबै बसेर खाने र सखिया नाच्ने गर्छन्।’ उनले कसैले पञ्च अन्न वा तीनवटा अन्नको जमरा राख्ने चलन भए पनि पछिल्लो समय यो लोप हुँदै गएको बताए।

उनका अनुसार यो समुदायमा विशेषगरी जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ। घरघरमा पारिवारिक टीका दिनभर चल्छ। गाउँमा नाचगान चल्छ। यसरी थारू समुदायको दसैँ सकिने उनले बताए।

दसैँको दसौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिए पनि थारूहरूले महाभारत महाकाव्यमा आधारित गीत गाएर दसैँ मनाउने गर्छन्। अन्य समुदायमा शक्तिपूजाको पर्वका रूपमा पुजिए पनि थारू समुदायमा दसैँ विशेषतः पितृपूजाको पर्वका रूपमा स्थापित छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *