नागरिक उन्मुक्ति पार्टीले मंगलबारसम्म उम्मेदवारको टुंगो लगाउने, कैलालीमा हेरफेर हुनसक्ने

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा एवं प्रदेशसभाको टिकट मंगलबारसम्म टुंगो लगाउने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले असोज १८ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिइन्।

नागरिक उन्मुक्ति पार्टीले देशभरि ४१ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ। तर प्रमुख राजनीतिक दलहरुबाट असन्तुष्ट बनेका नेताहरु पार्टीमा आबद्ध हुने क्रम जारी रहेको बताइएको छ। पार्टी स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायत पार्टीहरुबाट असन्तुष्ट नेताहरु नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भइरहेका छन्।

यो क्रम चलिरहे थप १२ जिल्लामा उम्मेदवारी दिन सकिने पार्टी स्रोत बताउँछ। पर्सीसम्म उम्मेदवारको टुंगो लगाए पनि असोज २० गतेमात्रै टिकट वितरण गरिने स्रोतको भनाइ छ।

त्यस्तै कैलाली जिल्लाको हकमा उम्मेदवार हेरफेर गर्ने तयारी रहेको स्रोतको दाबी छ। ‘कैलाली जिल्लाको हकमा उम्मेदवार हेरफेर हुनसक्छ। कतिपय नेताहरु पार्टीको नीतिविपरीत काम गरिरहेको भन्दै हेरफेर गर्नेबारे छलफल भएको छ,’ ती स्रोतले थारुवानसँग भन्यो।

कैलालीको कुन क्षेत्रमा हेरफेर गर्ने भन्नेबारे स्रोतले खुलाएन। पार्टी  अध्यक्ष रञ्जिताले काुननले तोकेको मापदण्डअनुसार उम्मेदवार टुंगो लगाउने बताए। उनले लोकप्रियता र पार्टीप्रति निष्ठावान अर्को सर्त रहेको बताइन्।

पार्टीको संरक्षकसमेत रहेका रेशम चौधरीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ २५ सिट जित्ने दाबी गरेका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनेगरी सिट जित्नेसमेत उनको दाबी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *