प्रचण्डले गरे द्वारिकलाल चौधरीको तारिफ, भने- उहाँ बहुचर्चित मेयरको रूपमा स्थापित हुनुहुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन्। खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे।

‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ। द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुहुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डको भनाइ थियो।

क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले विशेष राष्ट्रिय अर्थ राख्ने पनि उनले बताए।

प्रचण्डले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ। चुनावको विशेष मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ। तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ।’

नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ। चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन। चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवारको आकांक्षी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *