थारू बस्तीमा सखिया नाचको रौनक

यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ। दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्छ। कञ्चनपुरको बेदकोट नगरपालिका-९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाच नाच्छिन्।

उनीलगायत गाउँका सबै मान्छे साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्छन्। त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन्। ‘साझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्छौं। सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौं,’ उनले भनिन्। उनले दसैं सुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताइन्।

‘यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ। सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको अनुभूति नै हुँदैन,’ उनले भनिन्। उनले पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि नै सखिया नाच्ने गरे पनि पछिल्लो समय यो नाच छोट्टिदै गएको बताइन्।

‘अहिले दसैँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे। हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ,’ उनले भनिन्।

थारु समुदायमा दसैँमा सखिया नाचको विशेष महत्व हुने देवी चौधरीले बताइन्। ‘सखिया नाच नभएपछि गाउँमा दसैँ आएको हो कि होइन थाहा हुँदैन,’ उनले भनिन्, ‘थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो।’

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताइन्। उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचिअनुसारको रङको कमिज लगाउने गर्छन्।

‘गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ। गीत गाउनले चलन पछि छुट्टै छ सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन,’ उनले भनिन्।

प्रायःपुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको छ। आउने पिंढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताइन्।

‘आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ। हाम्रो समुदायमा दसैँ धुमधामका साथ मनाउने गरिन्छ अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ,’ उनले भनिन्।

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन्। सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ।

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *