भावुक हुँदै रञ्जिताले भनिन्- ‘मलाई पनि श्रीमानसँगै दसैँ मनाउन मन छ तर…

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एकाएक भावुक भइन् । उनी नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासलाई स्मरण गर्दै भावुक भएकी थिइन् ।

‘धेरै कुरा भन्न चाहन्नँ । दसैँ घर आँगनमै आइपुगिसकेको छ । तपाईंहरुको बुबा, छोरा पनि दसैँ मनाउन घर पुगिसकेका होलान् । कोही पुग्दै होलान्,’ उनले भनिन्, ‘मलाई पनि लाग्छ, मेरो श्रीमान पनि दसैँ मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ? जो-जो कारागारमा छन्, उनीहरु पनि घर आएको भए उनीहरुका घर परिवारमा कस्तो खुसियालीको माहोल हुन्थ्यो होला ।’

उनले २०७२ मा संविधान बनिरहँदा आफूहरु पनि यो देशको नागरिक भएकाले पहिचान र अधिकार चाहियो भनिरहँदा आफूमाथि राज्यबाट चरम दमन र अत्याचार भएको उल्लेख गरिन् । त्यो दमन र अत्याचारबाट उन्मुक्तिका लागि नै नागरिक उन्मुक्ति पार्टी गठन भएको उनले स्पष्ट पारिन् ।

उनले आफ्ना आफन्तजनसँग यो दसैँ मनाउन नपाए पनि आउँदो माघी भने अवश्य पनि घरपरिवारसँगै मनाउन पाउने आशा व्यक्त गरिन् । टीकापुर घटनाका जेलबन्दीहरु त्यतिन्जेलसम्म घर आउनेमा उनले विश्वास व्यक्त गरिन् । त्यसका लागि आउँदो मंसिरमा मतदाताको साथ चाहिने उनको भनाइ थियो ।

‘गएको पुसमा दर्ता भएको पार्टी आज कैलालीको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । आउँदो मंसिरमा हामीलाई भोट दिइ राष्ट्रिय पार्टी बन्न सहयोग गर्नुस्’, उनले अगाडि भनिन् ‘यो दसैँमा त सम्भव हुँदैन होला । आउँदो माघी जसरी पनि आफ्नो घर परिवारसँगै मनाउने बाटो बनाइदिनुस् ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *