अमेरिकीबासी त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’‍

थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए।

उनले सन् २००६ मा टीएफएको स्थापना गरेका थिए। उनले सन् २०१४ सम्म अध्यक्षसमेत भएका थिए। सप्तरी घर भएका उनी अमेरिकामा स्थायीरूपमा बसाेबास गर्ने पहिलो थारू हुन्। उनी सन् १९७९ मा विद्यार्थीको रुपमा अमेरिका पुगेका थिए। अर्थशास्त्रविद्को पहिचान बनाएका उनी अमेरिकाको नभाजो नेशनमा कार्यरत थिए। उनी सन् २००९ मा अवकास पाएका थिए।

अवसकापछि उनी प्रध्यापकको काम गर्दै आएका छन्। उनले विभिन्न स्कुल र कलेजहरुमा अध्यापन गराउँदै आएका छन्। सन् २०१५ मा उनी ४४ जना प्रध्यापकलाई पछि पार्दै ‘टीचर अफ मन्थ’ बनेका थिए।

उनले सामाजिक काममा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। नेपालमा रहँदा उनले थारू कल्याणकारिणी सभाबाट थारु सँस्कृति नामक म्यागजिन प्रकाशित गरेका थिए। उनले नेपाल र अमेरिकामा बस्ने सयौं थारूहरूलाई प्रत्यक्ष सहयोग गरेका थिए। डीभी परेर अमेरिका आएका धेरै थारूलाई उनले सहयोगसमेत गरेका थिए।

त्यस्तै तिलकराम महतो र सुरेन्द्र चौधरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। नवलपरासीका तिलकराम सन् १९९३ मा अमेरिका पुगेका थिए। अमेरिकाको कृषि र वातावरण विज्ञको रुपमा काम गरेका उनी टीएफए स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सन् २०१५ देखि २०१८ सम्म टीएफएको अध्यक्षसमेत भएका थिए। सामाजिक कार्यबाट धेरैलाई सहयोग गर्न सकिने उनको सिद्धान्त रहेको छ। हालः उनी सल्लाहकारको रुपमा संस्थामा आबद्ध छन्।

त्यस्तै सुनसरीका सुरेन्द्र चौधरी सन् १९९३ मै अमेरिका पुगेका थिए। नेपालमा रहँदा सञ्चार क्षेत्रमा कार्यरत उनी अमेरिका पुगेपछि सिकागोल्यान्ड थारू सोसाइटी नामक संस्था स्थापना गरेर थारूहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *