भोट दिएरमात्रै हुँदैन, काम भएन भनेर नेतालाई झकझक्याउनु पनि पर्छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले भोट दिनेमात्रै नभई कहाँ के भएन भनेर झकझक्याउनु मतदाताको दायित्व भएको बताएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना कृष्णमन्दिर नजिकै नवनिर्मित तेक्वान्दोको प्रदेश कभर्डहल उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘तपाईंहरूले मलाई भोट दिएरमात्रै हुँदैन। तपाईंहरूले विकास निर्माणका सवालमा यहाँनेर यो भएन भनेर मलाई झकझक्याउनु पर्छ, गाली गर्नुपर्छ।’

विकास निर्माणको सबालमा कहाँ के चाहिएको छ? भनेर मतदाताले खबरदारी गर्न जरूरी रहेको उनले बताए। ‘व्यक्तिगत कुरा नगर्नुहोला, तर विकास निर्माणका सबालमा तपाईंहरूले आफूले मतदान गरेको व्यक्तिलाई बेला-बेला झकझक्याउनै पर्छ,’ उनले भने, ‘त्यसले मलाई ऊर्जा मिल्छ र मैले अझै काम गर्न कति बाँकी रहेछ भनेर बोध गराउँछ।’

उनले युवा लक्षित रोजगारी सृजना गर्नको लागि हरेक गाउँ-गाउँमा पुगेर नेटवर्क बनाइने बताए। राजधानीलाई दाङमा स्थापित गर्न केही मद्दत पुगोस् भनेरै प्रदेश सरकारको ५० लाख रकमबाट तुलसीपुरको दुधेनामा प्रदेशस्तरीय तेक्वान्दो खेलको लागि कभर्डहल निर्माण गरिएको उनले जानकारी दिए। मन्त्री चौधरीले कभर्डहल निर्माण कार्य पूरा भइ सकेपछि खेलाडीका लागि आवश्यक खेल सामग्री र अन्य सुविधा थप गर्नका लागि यो आर्थिक वर्षमा थप २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *