दाङमा महटावाको भेला, निर्वाचनमा निर्णायक शक्ति बनेर एजेण्डामा बार्गेनिङ गर्ने

सन्तोष दहित
मंसिर ४ को चुनावको मिति नजिकिएसँगै दाङका सघन थारु गाउँहरूमा महटावाहरू अधिकार लागि अघि सरेका छन्। दाङका विभिन्न गाउँबाट उनीहरु शनिबार सदमुकाम घोराहीमा भेला भए। अबको निर्वाचनमा महटावाहरूको भूमिका र महटावाको एजेण्डा के रहने भन्ने विषयमा घनिुभत छलफल भएको महटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए।

चुनावका बेला नेताहरू गाउँ आउने र विभिन्न आश्वासन दिएर आफूहरूलाई भोट बैंकको रुपमामात्र प्रयोग गरेको भन्दै आउँदो निर्वाचनमा सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। ‘हाम्रो समुदायको भोटले सांसद, मन्त्री बन्ने तर थारू समुदायको मुद्दा जहीँको तहीँ छ। हाम्रा एजेण्डाहरु लिखितरुपमा प्रतिवद्धता नगरेसम्म उम्मेद्वारलाई भोट नहाल्ने रणनीति बनाएका छौं,’ अध्यक्ष चौधरीले भने।

उनले आफूहरुको माग, मुद्दा सम्बोधन गर्नेलाई भोट हाल्ने बताए। ‘सघन थारू बस्तीमा हामीले बृहत् छलफल चलाइरहेका छौं। जसले थारु गाउँमा भुह्यारथान, महटावा सभागृहको निर्माण सुनिश्चत गर्छ, उसैलाई हाम्रो भोट जान्छ,’ उनको भनाइ छ।

त्यसैगरी सिचाइ, कुलो, बाँध बनाउने, किसानलाई सहुलियत विउविजन, अनुदान र रासायिनक मलको व्यवस्था गर्ने उम्मेदवारलाई भोट हाल्न आवश्यक परे ह्वीप जारी गर्ने अध्यक्ष चौधरीको भनाइ छ।

कति छन् थारु मतदाता?
दाङ थारु समुदायको उद्गम थलो जिल्लाको रुपमा चिनिन्छ। कूल जनसंख्याको ३७.५ प्रतिशत थारू समुदायको जनसंख्या छ। दाङमा अहिलेका कूल मतदाता ४ लाख १४ हजार ९५६ रहेको छ। यीमध्ये थारू समुदायमात्रको डेढ लाख मतदाता रहेको अनुमान गरिन्छ। त्यसैले थारु समुदायको मतदाता यहाँ निर्णायक मानिन्छ। थारु समुदालाई जसले प्रभाव पार्न सक्यो, उसले अहिलसम्म निर्वाचन जित्दै आएको पूर्व सांसदहरुले बताउने गरेका छन्।

थारू समुदायको मत आफूतिर तान्नका लागि राजनीतिक दलहरुले सघन थारू बस्तीमा जाने र महटावाहरुलाई प्रभावित पार्न खोज्छन्। महटावा थारु भिलेजको मुख्य व्यक्ति भएकाले चुनावको समयमा थारु गाउँमा नेताहरुको बाक्लो उपस्थिति हुन्छ। थारू भिलेजमा महटावाले ह्वीप गरेपछि सबैले मान्छन् र त्यहीअनुसार भोट हाल्छन् भन्ने नेताहरूमा विश्वास छ।

कति छन् दाङमा महाटावा?
थारू कल्याणकारिणी सभाका अनुसार दाङमा ८ सय बढी महटावा छन्। अहिले विविध कारणले केही गाउँमा महटावा नभए पनि अधिकांसश गाउँमा महटावा रहेको सभाका अध्यक्ष भुवन चौधरीले बताए। उनका अनुसार बंगलाचुली गाउँपालिकाबाहेक सबै पालिकामा महटावाहरुको बाक्लो उपस्थिति छ। सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा छन्। उनका अनुसार घोराहीमा २५० को हाराहारीमा छन्। त्यसैगरी तुलसीपर उपमहानगरपालिकामा दुई सय बढी महटावा छन्। त्यसपछि दंगीशरण गाउँपालिका पनि ५० भन्दा बढी महटावा रहेको अनुमान छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *