जेलबाट रेशम चौधरीको आह्वान- पहिचान पक्षधरहरू नागरिक उन्मुक्तिमा आउनुस्

नागरिक उन्मुक्त पार्टीका संरक्षक रेशम चौधरीले पहिचान पक्षधरलाई नागरिक उन्मुक्ति पार्टीमा आउन आह्वान गरेका छन्। दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा शुभकामना दिँदै उनले पहिचान पक्षधरहरुलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका हुन्।

देश निर्वाचनको संघारमा रहँदा विभिन्न पार्टीमा असन्तुष्टि देखिएको भन्दै उनले नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएर चुनाव लड्न आग्रह गरे। ‘देश निर्वाचनमय बनेको छ। पहिचान पक्षधरका धेरै साथीहरु पार्टीभित्र असन्तुष्ट हुनुहुन्छ। उहाँहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आएर चुनाव लड्न आग्रह गर्न चाहन्छु,’ उनको शुभकामना सन्देशमा भनिएको छ।

उनले नागरिक मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई राष्ट्रिय दल बनाएर संविधान संशोधनका लागि भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरे। ‘संविधानमा हाम्रा माग मुद्दा र एजेण्डाहरु अपुरा छन्। पहिचानका ती एजेण्डाहरु संविधानमा परिभाषित हुनुपर्छ। संविधानले हाम्रा अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘त्यही भएर सबै पहिचान पक्षधरलाई नागरिक उन्मुक्तिमा आउन आह्वान गर्दछु।’

उनले आगामी निर्वाचनमा आफ्नो दल राष्ट्रिय दल बन्ने दाबी गरेका छन्। त्यतिमात्र नभएर सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने दाबीसमेत रेशम चौधरीको छ। उनले मंसिर ४ को निर्वाचनले संघीय र प्रदेश सरकार, राष्ट्रियसभा र राष्ट्रपतिको निर्वाचनमा समेत आफ्नो दल निर्णायक बन्ने दाबी गरेका छन्।




2 thoughts on “जेलबाट रेशम चौधरीको आह्वान- पहिचान पक्षधरहरू नागरिक उन्मुक्तिमा आउनुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *