दाङ १ को टिकट लिन शान्ता र गंगाको हानथाप

दाङको क्षेत्र नं १ का लागि नेकपा एमालेबाट सचेतकसमेत रहिसकेकी शान्ता चौधरी र पूर्वसांसद गंगा सत्गौंवा थारू सिफारिस भएका छन्। केही समयअघि उनीहरुले सामाजिक सञ्जालबाट जसले टिकट पाए पनि जिताउन लागिपर्ने उल्लेख गरेकी थिइन्।

शान्ताले भनेकी थिइन्, ‘अरुले के भन्छ थाहा छैन! हामीमध्ये जसलाई पार्टीले टिकट दिन्छ, उसलाई जिताउन हृद देखि नै आर्थिक भौतिक नैतिक सहयोग गरी अहोरात्र खट्ने वाचा गरियो है!’ सोही समयमा गंगाले पनि लेखिन्, ‘हामी दुई दिदीबहिनीमध्ये जसलाई पार्टीले टिकट दिए पनि हामी एक भएर जाने छौं।’ दुवैले अंगालो मारेको हँसिलो तस्बिर पनि पोस्ट्याएका छन्।

तर यथार्थमा दुवै नेतृ टिकटका लागि तीव्र लबिङमा छन्। दुबै ओली निकट रहेका कारण कसलाई टिकट दिन्ने भन्नेबारे शीर्ष नेतृत्व पनि अनिर्णित बनेको स्रोतको भनाइ छ। यतिबेला शान्ता र गंगा दुवै जनाले टिकटका लागि शीर्ष नेतृत्वलाई दबाब दिइरहेकी छन्।

देउखुरीमै दुईमध्ये कसको जनाधर राम्रो भन्नेबारे बसह थालिएको छ। देउखुरीकै भएकाले हिसाबले गंगाले टिकट पाउनुपर्ने स्थानीय नेताहरुको दाबी रहे पनि पार्टी पोर्टफोलियोमा शान्ता माथि रहेकाले उनलाई टिकट दिने कि भन्ने शीर्ष नेतृत्वमा गम्भीर छलफल भएको छ। त्यसका बावजुद दुवैले अध्यक्ष केपी ओलीसँग पनि निरन्तर सम्बाद गरिरहेको स्रोतको दाबी छ।

एमालेले उम्मेदवारको सर्तमा पनि जित्कसक्ने र लोकप्रियता पाएका नेतालाई प्राथमिकता दिने भनेको छ। यस हिसाबले हेर्ने हो भने जनतामा शान्ताभन्दा बढी लोकप्रिय पछिल्लो समय गंगा छिन्। गुठी विधेयकदेखि चर्चामा आएकी गंगाले त्यसपछि निरन्तर राष्ट्रियताका सबालमा र सीमा विवादमा आफ्नो बक्त्व्य दिँदै आएकी छन्। त्यतिमात्र होइन, उनले कुनै बेला सँगै काम गरेकी अभिनेत्री करिश्मा मान्नधरलाई पनि एमालेमा भित्र्याउन प्रमुख भूमिका निर्वाह गरेकी थिइन्।

‘दुवै जनाले शीर्ष नेतृत्वसहित अध्यक्षज्युलाई पनि टिकटको लागि दबाब दिइरहनुभएको छ। जिल्लाबाट पनि मिश्रित रिपोर्ट आएका कारण कसलाई टिकेट दिने अन्यौल कायमै छ,’ स्रोतले थारुवानसँग भन्यो।

पछिल्लो समय दुवैले ओलीको एजेन्डालाई सामाजिक सञ्जालमा प्रचार पनि बढाएका छन्। दुवै जनाले ओलीसँगको तस्बिर पोस्ट्याउँदै विरोधीलाई गाली र ओलीको एजेन्डालाई प्रचार गरिरहेकी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *