थारू समुदायका ६ जना विभूषित, सहिद परिवारकी सीतारानी थारूलाई समाजसेवा श्री पदक

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। जसमध्ये थारू समुदायबाट ६ जना व्यक्तिलाई परेका छन्। लुम्बिनी प्रदेश सरकारले बुटवलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा संघीय गणतन्त्र स्थापना तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पदकबाट विभूषित गर्ने घोषणा गरिएको हो।

प्रदेश सेवा समर्पण पदकबाट दाङका शिवप्रसाद चौधरी रहेका छन्। उनी आफू कार्यरत कोष तथा लेखा नियन्त्रक कार्यालयलाई कार्यसम्पादनका हिसाबले नेपालको प्रथम बनाएको तथा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गरको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश सेवा समर्पण पदकबाटै बाँकेका शारदा कुमारी चौधरी पनि विभूषित भएकी छन्। उनी स्वास्थ्य सेवामा रही बिरामीहरुको उपचारमा अनुकरणीय रुपमा संल्गन रही कोभिड-१९ महामारीमा समेत विशेष भूमिका बहन गरेकी थिइन्।

त्यस्तै समाजसेवा श्री पदकबाट बर्दियाकी सीतारानी थारू विभूषित भएकी छन्। उनी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा परिवारका ४ जना सदस्यहरुको सहादत भएको र अनुकरणीय योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारले विभूषित गरेको जनाएको छ।

त्यस्तै प्रदेश रत्न पदकबाट दाङका कृष्णराज सर्वहारी विभूषित भएका छन्। थारू भाषा र साहित्यको उन्नयनमा थारू शब्दकोग संकलन, थारू पाठ्यक्रम निर्माण एवं थारू साहित्यको खोज अध्ययन अनुसन्धानमार्फत् सहयोग पुर्‍याएको भन्दै प्रदेश सरकारले विभूषित गरेको जनाएको छ।

त्यस्तै प्रदेश रत्न पदकबाट दाङकै पूर्णबहादुर चौधरीलाई मरणोपरान्त विभूषित गरिएको छ। उनलाई थारू संग्रहालय स्थापना एवं थारू कला र सँस्कृतिको सम्बर्द्धन र प्रवर्द्धनमा अनुकरणीय योगदान पुर्‍याएको सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै दंगिशरण बलिहाङ्ग पदकबाट बर्दियाका लल्लुराम थारू विभूषित भएका छन्। उनी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्‍याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *