जेलभित्रै रेशम चौधरीले यसरी बनाउँदैछन् चुनावी रणनीति

अनिल यादव/नयाँ पत्रिकाबाट साभार

अदालतले टीकापुर घटनामा दोषी ठहराएपछि चार वर्षदेखि डिल्लीबजारस्थित कारागारको ‘ब्लक–ख’ दैनिकी बिताइरहेका रेशम चौधरी यतिवेला अस्वाभाविक व्यस्त छन् । उनी आफैँ प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा मात्र छैनन्, पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चुनावी रणनीति पनि कोर्दै छन् । कारागारबाटै स्थानीय तह निर्वाचन रणनीति तयार पारेका चौधरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन् । कारागारको मूल गेटभित्र दायाँतिर ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा दिनहुँजसो पार्टीका नेता–कार्यकर्ता चौधरीसँग छलफल गरेर फर्कन्छन् ।

कारागारभित्रै चौधरीले सांकेतिक रूपमा निर्वाचनको प्रचार थालिसकेका छन् । ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा प्लास्टिकको एउटा राउन्ड टेबुल, प्लास्टिककै चार–पाँचवटा कुर्सीसहित बसिरहेका हुन्छन्, चौधरी । उनले टेबुलमाथि सजाएर राखेका हुन्छन् एउटा ढकिया । त्यही ढकियामाथि हुन्छन्, चौधरीका डायरी, कापी ।

भेट्न जाने अधिकांश आगन्तुकले ढकिया देखेर प्रश्न गर्छन्, ‘यो किन यहाँ ?’ चौधरी चुनावी प्रचारकै शैलीमा जवाफ दिन्छन्, ‘यो थारूहरूको पहिचान हो । पूजाआजा र शुभकार्यमा प्रयोग हुने महत्वपूर्ण वस्तु हो । विवाहका वेला होस् या मृत्युवरणमा यो हाम्रो मान र सान हो । र, अहिले हाम्रो पार्टीको चुनाव चिह्न ।’टीकापुर घटनाको मात्र होइन कारागारसँग उनका दुईवटा निर्वाचन जोडिएका छन् । ०७४ प्रतिनिधिसभा निर्वाचनअगाडि उनी ‘फरार अभियुक्त’ थिए । टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा प्रहरी उनलाई खोजिरहँदा उनी कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवास्थित थारू समुदायकै घरमा चुनावी रणनीति कोरिरहेका थिए ।

फरार अभियुक्तकै रूपमा उनी तत्कालीन राजपाबाट चुनाव लडे । र, ३४ हजार तीन सय ४१ मत ल्याएर चुनाव जिते । तर, उनी संसद् होइन, कारागार जान बाध्य भए । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा शपथ गराए पनि उनी संसद्मा बस्न पाएनन् । आफू जेलमै रहेका वेला चौधरीले १९ पुस ०७८ मा श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । स्थापनाको तीन महिनामै स्थानीय तह निर्वाचनमा सहभागी भएर कैलालीको चार पालिका जितेपछि उनको पार्टी त्यहाँ पहिलो मात्रै बनेन, यसले थारू बाहुल्य रहेको क्षेत्रमा मतदातामाझ रहेको भावना र रुझान पनि मुखरित गर्‍यो ।

यसबाट हौसिएका चौधरी यसपटक जेलभित्रबाटै आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन लड्ने तयारीमा छन् । उम्मेदवारका लागि उनी बर्दिया २ बाट सिफारिस भएका छन् । दुई तहका अदालतबाट दोषी ठहर भएकाले प्रतिनिधिसभा ऐन उनका लागि बाधक बन्न सक्छ । उम्मेदवार बन्न रोके त्यही एजेन्डा लिएर थारू समुदायमा जाने उनको तयारी छ । उनी कारागारभित्रै बसेर जित–हारको जोडघटाउ गरिरहेका छन् । ‘कहाँ–कहाँ हामी कसरी जित्छाैँ,’ भेट्न जाने नेता–कार्यकर्तालाई पूरै आत्मविश्वासका साथ ‘ब्रिफिङ’ गरिरहेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने मात्र होइन, पाँचवटै प्रदेशमा सम्मानजनक सिटमा जित निकाल्ने चौधरीको दाबी छ । थारू कल्याणकारिणीको मत सर्वेक्षणअनुसार समानुपातिकतर्फ कम्तीमा तीन लाख भोट पाउने अपेक्षा रहेको चौधरी बताउँछन् । विशेषगरी थारू बाहुल्य क्षेत्रमा केन्द्रित उनको पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष १५ र समानुपातिक १४ तथा प्रदेशतर्फ प्रत्यक्ष ४६ र समानुपातिक २३ सिट ल्याउने आन्तरिक ‘अस्वाभाविक’ विश्लेषण छ । यतिसम्म कि थारू बाहुल्य रहेको सुदूरपश्चिम प्रदेशमा १९ सिट जितेर सरकारको नेतृत्व नै नागरिक उन्मुक्ति पार्टीको हातमा पुग्ने चौधरीको महत्वाकांक्षी दाबी छ ।

कैलालीका पाँच क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ कम्तीमा तीन क्षेत्र आफ्नो पार्टीले जित्ने उनको दाबी छ । कञ्चनपुरको १ र २ क्षेत्रमा पनि आफ्नो प्रभाव रहेको चौधरीको हिसाब छ । ‘हाम्रो अध्ययन र विश्लेषणमा चुनावपछि हामीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको नेतृत्व गर्छौँ भन्ने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने, ‘यसपटक ढकियाको उदय अप्रत्याशित भयो भने कसैले अचम्म नमाने हुन्छ ।’

चौधरीले बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देही र नवलपरासीमा पनि राम्रो मत र सिट पाउने दाबी गरेका छन् । २६ सिटसहित लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा पुग्ने विश्लेषणसमेत सो पार्टीका नेताहरूको छ । प्रदेश १ बाट पनि सम्मानजनक मत आउने चौधरीको विश्वास छ । थारूहरूको बाक्लो बसोवास रहेका सुनसरी, मोरङलगायत क्षेत्रबाट राम्रो मत आउने उनको विश्लेषण छ । मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरीमा थारू मतदाता रहेका निर्वाचन क्षेत्रमा उन्मुक्ति पार्टीको नजर छ । उन्मुक्ति पार्टीले कर्णाली, बागमती र गण्डकी प्रदेशबाट आस गरेको छैन ।

चौधरीको कागजी विश्लेषणमा कर्णाली प्रदेश सभामा कम्तीमा एउटा सिट जित्ने दाबी छ । उनले बागमती प्रदेशमा पनि सम्मानजनक मत आउने दाबी गरेका छन् । जसपाको अधिकांश कार्यसमिति नागरिक उन्मुक्ति पार्टीसँग समाहित हुनु, नेवार समुदायकी रहेकी पार्टीकी अध्यक्ष (रेशमकी श्रीमती) रन्जिता श्रेष्ठको काठमाडौं, ललितपुर र भक्तपुरमा पहुँच हुनुलाई उनले यसको आधार बनाएका छन् ।

७ भदौ ०७२ को टीकापुर घटनामा सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान गएपछि यसको मुख्य योजनाकारका रूपमा जिल्ला र पुनरावेदन अदालतले दोषी ठहराएपछि चौधरी चार वर्षदेखि कारागारमा छन् । ३ वैशाख ०७५ मा राजधानीको डिल्लीबजार कारागार ल्याइएको थियो । संसद्मा निर्वाचित भएपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

शपथको तीन महिनापछि उनलाई जिल्ला अदालत कैलालीले २२ फागुनमा जन्मकैदको फैसला गरेको थियोे । त्यसपछि पुनरावेदन गर्न गाएका उनलाई उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गर्‍यो । अहिले उनी न्यायका लागि सर्वाेच्च अदालतको ढोकामा आइपुगेका छन् । चुनावी प्रचारकै लागि चौधरीले कारागारभित्रै गीत लेखिरहेका छन् । अहिलेसम्म उनले कारगाराबाटै चुनावलक्षित थारू भाषाका ६ गीत तयार गरिसकेका छन् । थारू बाहुल्य गाउँमा प्रस्तुति दिन उनले थारूगायक दर्पण कुसुम्याको संयोजकत्वमा १२ जना कलाकार खटाएका छन् ।

कलाकार टोलीको संयोजन गरिरहेका दर्पणका अनुसार अभिनयसहितको प्रस्तुति हेरेर थुप्रै ठाउँमा मानसिहरू रोएका छन् । अधिकांश गीतमा चौधरीको जेल जीवन र पीडाको कथा छ । ‘कलाको शक्ति कति बेजोड हुँदो रहेछ, हामीले गत चुनावमा देखिसक्यौँ । यसपटक पनि प्रभाव पार्ने पक्का छ,’ प्रवक्ता पण्डितले भने । चौधरीको पार्टीले स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा जित निकालेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रभाव रहेको कैलाली र कञ्चनपुरबाट दुई शीर्ष नेताका आफन्त पनि चुनाव लड्ने तयारीमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा कैलाली ४ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुर १ बाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन् ।

देउवा र प्रचण्डले निर्वाचनमा सहकार्य गर्न खोजेको चौधरीको दाबी छ । दुवैले आ–आफ्नो दूतलाई सन्देशसहित पटकपटक जेलमा भेट्न पठाएको प्रवक्ता पण्डितले दाबी गरे । तर, चौधरीले सहकार्यका लागि ‘पहिले रिहा’ को सर्त राखेका छन् । ‘अध्यक्षज्यूलाई शीर्ष नेताले दूतमार्फत सहयोगको प्रस्ताव राखेको कुरा छ,’ पण्डितले भने, ‘संविधान दिवस पनि आइरहेको छ । एक प्रतिशत भए पनि छोड्लान् कि भन्ने आस कतै मनमा हुँदोरहेछ ।’

उम्मेदवार चयनदेखि प्रचार सामग्री बनाउनसम्म लाग्नुभएको छ : दामोदर पण्डित, प्रवक्ता नागरिक उन्मुक्ति पार्टी
स्थानीय निर्वाचनमा चारवटा पालिका जितेर हामी कैलाली जिल्लाको पहिलो पार्टी भइसकेपछि मतदातामा राम्रो सन्देश गयो । त्यसपछि हामी कञ्चनपुरदेखि मोरङसम्म चुनावी अभियानमा होमियौँ । यात्राले राष्ट्रिय पार्टी बन्छौँ भन्ने बनाएको छ । चुनावी रणनीतिमा रेशमजीको भिजन र निर्देशन छ । उम्मेदवार चयनदेखि प्रचार सामग्री बनाउनेसम्म उहाँ संलग्न हुनुहुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *