राजकुमार लेखीलाई प्रश्न- एमालेमा गएपछि थरूहटको एजेण्डालाई के गर्नुभयो?

राजकुमार लेखी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रबल उम्मेदवार हुन्। नेकपा एमालेबाट उनी सप्तरी क्षेत्र १ (क)बाट सिफारिससमेत भएका छन्। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट राजपाका उम्मेदवार उनी एमालेका सत्यनारायण मण्डलसँग करिब दुई हजार मतले पराजित भएका थिए। अहिले उनी एमालेमै छन्। सो क्षेत्रका लागि बलियो उम्मेदवारको रुपमा पनि हेरिएको छ।

करिब दसकपछि एमालेमा फर्किएका उनलाई पार्टीभित्र काम गर्न कतिको कठिनाइ भइरहेको छ? आगामी निर्वाचनमा केन्द्रित भएर थारुवानले उनीसँग कुराकानी गरेको छ।

मंसिर ४ गते हुने निर्वाचनमा तपाइँ कतिको आकांक्षी हुनुहुन्छ?

म अघिल्लो निर्वाचन पनि लडेँ। थोरै मतले पराजित भएँ। मेरो कार्यक्षेत्र सप्तरी हो। पार्टीले हामीलाई भूगोलको जिम्मेवारी दिएको छ। त्यहीअनुसार हामी घुमिरहन्छौं। चुनाव लड्ने नेतालाई भूगोलको जिम्मेवारी दिएको हुन्छ। सायद पार्टीले त्यही भएर मलाई पनि जिम्मेवारी दिएको हुनसक्छ। म उम्मेदवार बन्ने कि नबन्ने निर्णय पार्टीले गर्ने हो। तर पार्टीको काममा म हिँडिँरहेकै छु। अन्तर्क्रिया र प्रशिक्षणमा सहभागी भएकै हुन्छु। निर्णय नगरुन्जेल मलाई उम्मेदवारी चाहिन्छ, म जसरी उम्मेदवार बन्छु नत्र मेरो त सर्वस्व जान्छ भन्ने मलाई लाग्दैन।

तपाइँको आफ्नै इच्छा पनि त होला, चुनाव लड्ने नलड्ने?

हरेक पार्टीमा १०-२० जना आकांक्षी हुन्छन्। नेकपा एमाले त झन् ठूलो पार्टी हो। पार्टीभित्र जो लोकप्रिय, योग्य, चुनाव जित्नसक्ने अथवा पार्टीले आवश्यक जसलाई देख्छ, पार्टीले उसैलाई उम्मेदवार बनाउँदा हुन्छ। मलाई नै चाहिन्छ भनेर मैले कहीँ पनि भनेको छैन। तर पार्टीको काममा कहीँ पनि कमी राखेको छैन। राजनीतिमा जोसुकै नेता पनि हरेक जिम्मेवारीको आकांक्षी हुनुपर्छ। राजनीतिक पदमार्फत् नै देशको विकासलगायतका काम गर्ने भएकाले आकांक्षी हुनु स्वभाविक कुरा हो जस्तो लाग्छ?

लामो समयपछि एमाले फर्किँदा काम गर्न कतिको सहज वा गाह्रो छ?

पहिलो कुरा त अरु मान्छेले पार्टी छोड्ने र मैले छोड्ने कुरा फरक हो। पार्टी छोड्दा हामी कुनै पनि दलमा प्रवेश गरेनौं। हामी एउटा वैकल्पिक शक्ति निर्माण गरेर संविधानको प्रक्रियामा बढीभन्दा बढी भूमिका खेल्न सकिन्छ, जनताको निम्ति काम गर्न सकिन्छ भनेर एमाले परित्याग गरेका थियौं। हामी पाँच वर्षसम्म सानो टिम बनाएर देशभरि घुम्यौं। संविधान निर्माण प्रक्रियामा सहयोग पुर्‍यायौं। त्यसपछि एजेण्डा मिल्ने पार्टीसँग एकता गर्‍यौं। म एमाले छोडेको थिएँ, एमाले प्रवेश गरेँ।

बाहिर रहँदा म पनि भ्रममा रहे। एमालेभन्दा पनि राम्रो पार्टी हुनसक्छ भनेर लाग्यो। भावना पनि बगेर एमाले छाडेका थियौं। तर होइन रहेछ, राष्ट्रिय राजनीतिमा एजेण्डा उठाएकाहरु बोली र व्यवहार फरक देखिएपछि पुनः एमालेमै फर्किएका हौं।

तपाइँ सीमान्तीकृत समुदायका एजेण्डा बढी बोक्नुहुन्छ। तर एमालेलाई आदिवासी थारु मधेसीविरोधी पार्टी भनेर आरोप लगाइन्छ। गाह्रो होला नि काम गर्न?

हाम्रो बुझाइ नै गलत सावित भयो। एमाले थारु मधेसी मुस्लिम आदिवासीका मागप्रति संकीर्ण छ। उनीहरुका मुद्दाप्रति लचिलो छैन भनेर। यस दौरान के लाग्यो भने एमाले जति सक्छ, त्यति नै बोल्ने काम गर्‍यो। अरु पार्टी उफार्ने काम गर्‍यो। लडाउने काम गर्‍यो। उचाल्ने र अराजक अभिव्यक्ति दिलाउने काम गर्‍यो। त्यो स्कुलिङ अरु पार्टीले गराएको हो।

माओवादी र मधेसवादी जसरी यी कुराहरु गराए, आफ्नो एजेण्डाप्रति दुई प्रतिशत पनि इमान्दार भएनन्। आफ्ना माग पूरा गराउन सकेनन्। तर एमालेले जति भन्यो, त्यति नै सबै जाति समुदाय, सीमान्तीकृत समुदायका लागि आफ्नो पहलमा काम गर्‍यो। उदाहरणका रुपमा ५९ आदिवासी जनजातिलाई सूचीकृत गराउने काम गर्‍यो। आदिवासी जनजाति उत्थान प्रतिष्ठानको स्थापना गर्‍यो। संसदमा आदिवासीका सबालमा आइएलओ र युन्ड्रीपका सम्बन्धमा प्रस्ताव लैजाने पनि एमाले सांसद थिए।

मधेसवादी दलहरु संघीयताको समावेशिताको आफूलाई ठेकेदार सम्झिन्छन्। उनीहरुको अभिव्यक्ति पनि त्यही छ। तर सबैभन्दा असमावेशी संसद छ भने त्यो मधेस प्रदेशको संसद हो। सबैभन्दा असमावेशी सरकार छ भने त्यो मधेस प्रदेश सरकार हो। त्यहाँ एक जना थारु मन्त्री छैनन्। त्यहाँ एक जना दलित मन्त्री छैनन्। त्यहाँ एक जना महिला मन्त्री छैनन्। खास आर्य पनि एक जना मन्त्री छैनन्। ७ जनाको ठाउँमा २५ जना मन्त्री छन्। तैपनि असमावेशी छ।

ठीक उल्टो, एमालले सबै जाति समुदायलाई मिलाएर लगेको छ। चाहे त्यो संसद होस्, सरकार होस् या पार्टी होस्। पार्टीको विधान सबैभन्दा समावेशी कसले बनायो? एमालेले बनायो। एमालेपछि कांग्रेस र माओवादीले पनि बनायो। काम गराईमा त सबैभन्दा अगाडि एमाले देखियो। त्यसकारण बोली र व्यवहारमा फरक छ।

मधेस सरकार बनिरहँदा तपाइँ पनि त्यही पार्टीको अंग हुनुहुन्थ्यो। किन उनीहरुले असमावेशी सरकार बनायोजस्तो लाग्छ?

मधेसवादी दलहरु अहिले पनि राजनीतिक दल बन्न सकेका छैनन्। राजनीतिक पार्टीको स्वरुप ग्रहण गर्नै सकेका छैनन्। त्यो एउटा सेन्टिमेन्टमा बनेको पार्टी हो। माग मुद्दा त उठाए, तर त्यो माग मुद्दा त आजभन्दा ७० वर्ष अगाडि कांग्रेस एमालेले पनि उठाएको थियो। केही घटनाहरु घटे, अराजक स्थिति बन्यो। ती दलहरुले सेन्टिमेन्टको फाइदा लिए। त्यतिमात्र हो। नत्र माग मुद्दाको लागि लड्ने पार्टी दसौं बीसौंपटक विभाजन हुने कुरा थिएन। मधेसवादी दलहरुको हालत के छ सबैले देखिरहेका छौं। पहिलो शक्ति रहेको मधेसवादी दल आज त्यही प्रदेशमा चौथो शक्ति बनेको छ।

भनेपछि आगामी निर्वाचनमा मधेसवादी दलले कस्तो परिणाम ल्याउँला?

मधेस प्रदेशमा स्थानीय निर्वाचनले एउटा परिणाम दिएको छ। त्यहाँ पहिलो कांग्रेस, दोस्रो एमाले, माओवादी अनि जसपा रहेको छ। तर कांग्रेस आफ्नो बलमा पहिलो भएको होइन। पाँच दलीय गठबन्धनको सहारामा पहिलो बनेको हो। मधेसमा एमालेप्रति वितृष्णा थियो, आक्रोश थियो। त्यो पार्टी एमालेले एक्लै दोस्रो शक्ति बनेको छ। मंसिरको निर्वाचनमा मधेसमा एमालेको उपस्थिति राम्रो हुन्छ।

पाँच दलीय गठबन्धन बन्दै गर्दा एमालेले संसदीय निर्वाचनमा कस्तो परिणाम ल्याउँला?

पाँच वा दस दलीय गठबन्धन बने पनि एमाले आफ्नो तयारी त्यही ढंगले गरिरहेको छ। एमाले एक्लै चुनावमा जान्छ, एक्लै चुनाव लड्छ र बहुमतका साथ संसदमा छिर्छ। सिंगो पार्टी पंक्ति नै बहुमत ल्याउनेगरी तयारी गरिरहेको छ।

तपाइँले थरुहटको एजेण्डा बोक्नुभाथ्यो। एमालेमा आएपछि त्यो एजेण्डा कायमै छ?

चाहे थरुहटको एजेण्डा होस् या जनजातिको एजेण्डा। व्यवहारले के देखायो भने जब जब एमालेका नेता कार्यकर्ताहरु, चाहे साझा संगठन होस् या कुनै जनवर्गीय संगठनमा होस्। एमालेका नेता कार्यकर्ता महत्वपूर्ण ठाउँमा पुगेपछि आन्दोलन पनि भएको छ। एमालेको स्कुलिङबाट आएका नेताहरु आन्दोलनले समाधान पनि दिएको छ। सेफ ल्यान्डिङ पनि भएको छ। १५-२० वर्षको समीक्षा गर्दा हामीले एजेण्डा पनि उठायौं, सशक्त आन्दोलन पनि गर्‍यौं। आन्दोलनको सेफ ल्यान्डिङ पनि गरायौं।

त्यसकारण हामीले एजेण्डा छोडेका छैनौं। साझा संगठनमा हुँदा पनि उठायौं। अहिले पार्टीमा हुँदा पनि त्यो एजेण्डा पूरा गराउने अभियानमा छौं।

रेशम चौधरीको नागारिक उन्मुक्ति पार्टीले छोटो समयमै चर्चा कमाइरहेको अवस्था छ। तपाइँले त्यो पार्टीलाई कसरी विश्लेषण गर्नुहुन्छ?

कुनै पनि पार्टीको बारेमा नकारात्मक टिप्पणी गर्नु हुँदैन। बहुदलीय प्रतिस्पर्धा हो। प्रतिस्पर्धामा जो अगाडि आउँछ, देश समाज र नागरिकका निम्ति त्यो पार्टी स्थापित हुन्छ। मुख्य कुरा त्यो पार्टी थरुहटको माग मुद्दा बोकेर खुलेको पार्टी होइन। त्यो क्षेत्रमा पीडा छ। थरुहट आन्दोलनका कारण जुन घटना भयो, त्यो घटनालाई आधार बनाएर राज्यले थारुहरुमाथि आतंक फैलाउने काम गर्‍यो। अप्रिय घटना घटाउने काम गर्‍यो। त्यो पीडालाई सहन नसकेर अभिव्यक्तिको रुपमा वा भनौं सेन्टिमेन्टको रुपमा त्यो पार्टी गठन भएको ठान्दछु। हामीले उठाएको माग मुद्दालाई लिएर सडकमा आएको अहिलेसम्म देखेको छैन। २०-२२ वर्षअघि हामीले उठाएका मुद्दा त सम्बोधन भइसक्यो। संविधानमा ती कुराहरु आइसक्यो। अहिले त फरक एजेण्डाहरु आउनपर्ने हो।

रेशम चौधरीको पार्टी राष्ट्रिय पार्टी बन्ला?

त्यो सम्भावना छैन। म देख्दिनँ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *