तस्बिरमा हेर्नुस् कैलालीको भजनीमा बाढीको वितन्डा

सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेका हुन्।


सो पालिकाको अन्य वडामा पनि डुबान भएको प्रहरीले जनाएको छ। त्यसको विवरण आउन बाँकी रहेको छ। कान्द्रा नदीको बाढीले वडा ५ स्थित मिलनपुर टोल, लालबोझी, पुलियापुरको करिब २५० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । सो स्थानमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापाको कमाण्डमा उद्धारका लागि प्रहरी टोली खटाइएको छ।

यसैगरी, वडा नम्बर ७ स्थित कुटी, शिविर टोल, गणेशमान टोल, दक्षिणपूर्व टोलका पनि करिब २५० घरमा पानी पसेको प्रहरीले जनाएको छ । कान्द्रा नदीको पानी घरमा पसेको जनाइएको छ।

यस्तै, वडा नम्बर ८ को सोनाफाँटा, दैलेखी टोल, भर्थान टोल, जनकपुर, छछ्रहुवाका गरी करिब १६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पथरैया नदीमा आएको बाढी कारण ती गाउँमा घरहरू डुबानमा परेको हो। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि प्रहरी चौकी जनकपुरबाट प्रहरी सहायक निरीक्षक कमलसिंह भण्डारीको कमाण्डमा प्रहरी टोली खटाइएको छ।

घरहरू डुबानमा परे पनि मानवीय तथा पशुचौपाया क्षति नभएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए। घरमा पानी पसेपछि वडा ८ का केही स्थानीय हुलाकी सडकमा विस्थापित भएका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए। कैलालीसहित सुदूरपश्चिममा बिहीबारदेखि अविरल वर्षा भइरहेको छ।

यसैगरी, अविरल वर्षाका कारण पहिरो गएर भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको चुरे गाउँपालिका-५, ६ स्थित चार पाँच ठाउँमा स-साना पहिरो गएको छ। पहिरोका कारण गाडीहरू बाटोमा रोकिएका छन् भने पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जोशीले जानकारी दिए।

तस्बिर : दुर्गा देवकोटा/मालिका टिभी




Leave a Reply

Your email address will not be published. Required fields are marked *