गठबन्धनमा तीन थारू नेताको सिट सुनिश्चित, यी नेताहरू ‘डेन्जर जोन’मा

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ।

सहमतिअनुसार मोरङ ४ मा माओवादी र कांग्रेस दुवैले दाबी गरेका छन्। यो क्षेत्रमा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। पार्टीभित्र महेश आचार्य पनि राम्रो पोर्टफोलियो नेता भएकाले मोरङ ४ आफूहरुले पाउने दाबी कांग्रेसको छ। यसरी हेर्दा मोदीको क्षेत्र ‘डेन्जर जोन’मा परेको छ। विजय गच्छदारको सुनसरी ३ भने कांग्रेसले पाउन मोटामोटी सहमति भएको छ।

अघिल्लो निर्वाचनमा विजयी भएका तेजुलालको क्षेत्र भने कांग्रेसले लिने सहमति भएको छ। सप्तरी ४ मा मोटामोटी सहमति भएको ती नेताको दाबी छ। तेजुलाल अहिले पनि उक्त क्षेत्रका लागि आकांक्षी छन्।
त्यस्तै खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र बारा १ पनि कांग्रेसले लिने सहमति भएको छ। तर पर्साका नेता सुरेन्द्र चौधरीको क्षेत्रमा जसपाले दाबी गरेको छ। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपाका उम्मेदवार विजयी भएका थिए।

त्यस्तै दाङ १ एकीकृत समाजवादीलाई दिने सहमति भएको छ। उक्त क्षेत्रमा कांग्रेसका योगेन्द्र चौधरी आकांक्षी छन्। दाङमा कांग्रेसको भागमा क्षेत्र ३ परेको छ।

त्यस्तै बर्दियाको १ कांग्रेसको भागमा पर्दा क्षेत्र २ माओवादीलाई दिने सहमति जुटेको छ। उक्त क्षेत्रमा माओवादीका सन्तकुमार चौधरी प्रबल आकांक्षी छन्। तीनपटकसम्म विजयी भएका उनी चौथोपटक विजयी हुने तयारीमा जुटेका छन्। सोही क्षेत्रका कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित सिफारिसमा समेत परेका छैनन्।

त्यस्तै कैलालीको क्षेत्र ५ कांग्रेसलाई दिने सहमति भएको छ। उक्त क्षेत्रबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले उम्मेदवारी दिने बताइएको छ। बाँकी क्षेत्रमा सहमति नजुटे पनि कैलाली १ र ३ मा कांग्रेस र माओवादी दुबैको दाबी छ भने २ र ४ मा एकीकृत समाजवादीले दाबी गरेका छन्।

क्षे ३ मा माओवादी जितेका कारण आफूहरुले पाउने दाबी गरेका छन्। त्यही भएर पनि सोही क्षेत्रका थारु नेता रामजनम चौधरी क्षेत्र १ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त क्षेत्र रेशम चौधरीको क्षेत्र पनि हो। नागरिक उन्मुक्ति पार्टीबाट सो क्षेत्रमा रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *