बाराको थारू छात्राबासमा गैर विद्यार्थीको बास, अनियमितता आशंकापछि भवनमा तालाबन्दी

थारू कल्याणकारीणी सभा (थाकस) बारामा तालाबन्दी गरिएको छ। पदाधिकारीहरुले अनियमितता गरेको भन्दै थारू समुदायका अगुवाहरुले कलैयास्थित थाकसको भवनमा तालाबन्दी गरेका हुन्।

जिल्ला सभापति राप्रसाद चौधरी, सचिव यादवकृष्ण चौधरी र कोषाध्यक्ष बासु चौधरीले अनियमितता गरेका कारण तालाबन्दी गर्नुपरेको कोल्हबीका अगुवा रामचन्द्र चौधरीले बताए। थारू छात्राबासको लागि भन्दै निमार्ण गरेको भवनको कोठा अरुलाई दिएको उनको भनाइ छ।

उनका अनुसार थाकस मातहत रहेको भवनमा १४ वटा कोठा र एउटा हल रहेको छ। ती कोठाहरू भाडामा लगाइएको भए पनि त्यसको आर्थिक कारोबारको अभिलेख नराखिएको उनीहरूको आरोप छ। भाडामा लगाइएको कोठाको बहालबापतको रकम कसैले पनि नतिरेको सभापति चौधरीले जवाफ दिएपछि ताल्चा लगाएको अर्का अगुवा भुवन चौधरीले बताए।

थाकस सभापति, सचिव तथा कोषाध्यक्ष राजनीतिकरूपमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरी निकट मानिन्छन्। मन्त्री चौधरीकै इसारामा थाकस पदाधिकारी तथा सदस्य चयन हुँदै आएको र उनीहरूले मनोमानी गर्ने गरेको रुपलाल चौधरीले बताए।

‘थाकस कहिल्यै पनि थारु समुदायको संस्थाको रुपमा रहन सकेन। यो त केवल केही व्यक्तिहरुको राजनीतिक गर्ने अखडाको रुपमा रहेको छ। उनीहरूको मनोमानीकै कारण आज यस्तो हालत भएको छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *