पत्नी र बुहारीका लागि देउवा र प्रचण्डको रेशम चौधरीसँग बार्गेनिङ

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चर्चा यतिबेला देशभरि छ। स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जित्दै ठूलो दल बनेपछि आम निर्वाचनमा यो पार्टीले कस्तो मतपरिणाम ल्याउँला भन्ने चर्चा सर्वत्र रहेको छ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेको छ। निर्वाचन आयोग पनि त्यसको तयारी तीव्र पारेको छ। यता भर्खर अस्तित्वमा आएको नागरिक उन्मुक्ति पार्टीले पनि देशभरि चुनावी अभियान सञ्चालन गरिरहेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा हालै मेची-महाकाली अभियान सञ्चालन गरेको थियो। कञ्चनपुरदेखि सुरु भएको चुनावी अभियान बिराटनगरसम्म पुगेको थियो। यसबीचमा तराईका प्रत्येक जिल्लामा चुनावी सभा आयोजना गरिएको थियो।

पार्टीले निर्वाचन अभियान तीव्र पारिरहँदा प्रमुख राजनीतिक दलले रेशम चौधरीसँग आफ्नो क्षेत्रका लागि बार्गेनिङ सुरु गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले रेशम चौधरीसँग जेलमै बार्गेनिङ गर्ने गरेका छन्।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाका लागि कैलाली क्षेत्र नं ५ मा बार्गेनिङ गरेका छन् भने माओवादी अध्यक्ष प्रचण्डले कञ्चनपुर क्षेत्र नं १ मा बुहारी बिना मगरका लागि बार्गेनिङ गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीको सबैभन्दा बढी प्रभाव नै कैलाली र कञ्चनपुरमा रहेको छ। जसका कारण आरजु र बिनालाई निर्वाचनमा पराजित हुने डर देउवा र प्रचण्डलाई छ। दुबैको निर्वाचन क्षेत्र सुरक्षित गर्नका लागि देउवा र प्रचण्डले दूत पठाएर जेलमा रेशमसँग बार्गेनिङ गरेका हुन्।

‘नागरिक उन्मुक्ति पार्टीको प्रभाव कैलाली र कञ्चनपुरमा धेरै छ। सोही क्षेत्रबाट आरजु र बिना मगरको पनि उम्मेदवारी क्षेत्र हो। कैलाली ५ र कञ्चनपुर १ का लागि अध्यक्षज्युहरुले नै सहज पारिदिन रेशमजीसँग आग्रह गरिरहनुभएको छ,’ नागरिक उन्मुक्ति पार्टीका एक नेताले भने। प्रचण्ड र देउवाले चुनावअघि नै सर्वोच्चमा विचारधीन रहेको रेशमको मुद्दाबारे पनि छलफल चलाउने आश्वासन दिएका छन्।

यता देउवा र प्रचण्डले बार्गेनिङ गरे पनि रेशम चौधरीले उक्त क्षेत्र नछाड्ने अडानमा छन्। ‘तर नागरिक उन्मुक्ति पार्टीले त्यो क्षेत्र अरुका लागि छोड्दैन। रेशमजीले पनि पार्टीको तयारी तीव्र पार्न निर्देशन दिनुभएको छ। हामी हाम्रै उम्मेदवारलाई उक्त क्षेत्रमा अगाडि सार्छौं,’ ती नेताले थारुवानसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *