थारू गीतमा मौलिकता हराइरहेका बेला केशवराज महतोको ‘कमब्याक’

चार वर्ष अगाडिसम्म तराईको मध्य क्षेत्रमा रहेका थारुहरुबीच परिचित नाम हो- केशवराज महतो। गीत, संगीत, गायक र मोडलको छबि बनाएका उनी एकाएक विदेशिए। त्यसपछि उनी गुमनाम बसे।

बाध्यताले खाडी मुलुक हानिएका केशवले नवलपुरिया/चितोनिया थारु भाषा र संगीतमा थुप्रै योगदान दिएका छन्। चितवन र नवलपरासीका थारु समुदायमा अझै उनका गीतहरु मुखमा झुन्डिने गर्छ। तिनै केशवले चार वर्षपछि आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्।

‘सुन्दर एक सपना’ नामक एल्बमको पहिलो गीत घोङी चटना उनले सार्वजनिक गरेका छन्। गीतले थारु पहिचान र मौलिकता बोकेको छ। घोङी थारु समुदायको प्रमुख परिकारमध्येको एक हो। घोङीले आदिवासी थारुको पहिचानलाई पनि दर्शाउँछ।

थारु भाषाको गीतमा पहिचान र मौलिकता हराइरहेका बेला केशवले किन यही विषयलाई रोजे? उनी भन्छन्, ‘भाषा सँस्कृति, भेषभुसा, रीतिरिवार र परम्पराप्रति मेरो अगाध माया छ। विशेषगरी नवलपुर क्षेत्रमा बोलिने भाषालाई संरक्षण र प्रवर्द्धन गर्ने निकै कम भएको देख्छु। भाषा नै सभ्यताको पहिलो खुड्किलो भएकाले लोकगीत मेरो प्राथमिकताको विषय बन्ने गर्छन्।’

यो गीतले कुनै उमेर समूहलाई मात्र नभएर थारू समुदायका सबैलाई मनोरञ्जन प्रदान गर्ने उनको भनाइ छ। ‘थारु भाषाको मौलिक शब्दले बुढापाकालाई जसरी अपनत्व महसुस गराउँछ। त्यसरी नै नयाँ युवाहरुलाई त्यस शब्दबारे ज्ञान पनि बढाउँछ। त्यही भएर होला हप्ता दिनमै यो गीत मन पराउनेको जमात बाक्लै छ,’ उनले भने।

भिडियो हेर्नुस्:

उनले यी गीतका शब्दहरु पाँच वर्षअघि नै संकलन गरेको बताए। जुन शब्दहरु थारु समुदायको मौलिक झमटाबाट प्रभावित छ। ‘घोङी चटना ५ वटा लोक तथा झमटा गीतहरुको स्वरुप हो। यो गीत लेख्न झमटा गीतका अग्रज ज्ञाता हरिमाया थनेत, लोकगीतका जानकार दानबहादुर महतो र रामानन्द महतोको पनि उतिकै साथ र सहयोग छ,’ उनले भने।

उनले ठेट थारु भाषा भएर संगीत अरेन्ज गर्दा कठिनाइहरु आएको बताए। ‘शब्दमा संगीत भर्ना केही भाषागत कठिनाइहरु पनि सामना गर्नुपर्‍यो। तर एउटा सर्जकको नाताले लोकगीतको स्वरुपलाई नबिगारी पस्किने प्रयास गरेकको छु,’ उनले भने। उनले थारुहरुको क्षेत्रगत हिसाबले शब्दावली, उच्चारण र शैली फरक भए पनि भाषा र पहिचान एउटै भएको र सबै ठाउँका भाषालाई बराबरी माया गर्नुपर्ने बताए।

यो गीतमा केशव र थारु समुदायकी चर्चित गायका समीक्षा चौधरीको स्वर रहेको छ। हीरा चौधरीको निर्देशनमा बनेको भिडियोमा राजीव चौधरी र दीपिका चौधरीको अभिनय रहेको छ। भिडियोलाई सेबिल इन्टरटेन्मेन्टका लोकेन्द्र चौधरीले निर्माण गरेका छन्। केशवका अनुसार बाँकी गीतको भिडियोहरु पनि सेबिल इन्टरटेन्मेन्टले नै निर्माण गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *