‘नागरिक उन्मुक्ति पार्टीले संघमा २५ र प्रदेशमा ५५ वटा सिट जित्छ’

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण जोगेठवा थारुले आउँदो संसदीय चुनावमा प्रतिनिधिसभातर्फ २५ सिट जित्ने दाबी गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा उनले संघमा २५ र प्रदेशमा ५५ सिट जित्ने दाबी गरे।

‘नवलपरासीदेखि कञ्चनपुरसम्म हाम्रो पार्टीको एकछापे भोट आउँछ। प्रतिनिधिसभातर्फ २५ सिट र प्रदेशसभातर्फ ५५ सिट जित्छौं,’ उनले भने, ‘यो हावा गफ होइन। निर्वाचनपछि सत्यमा सावित हुन्छ।’

उनले नागरिक उन्मुक्ति पार्टीले ४१ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको बताए। ‘कम्तिमा ४१ जिल्लामा उम्मेदवारी दिन्छौं। आउँदा दिनमा त्यो बढ्न पनि सक्छ,’ उनले भने।

उनले नागरिक उन्मुक्ति पार्टीले पहिचानको मुद्दालाई प्रमुख बनाएको बताए। टीकापुर घटनामा निर्दोष थारुहरुलाई जेलमा थुनेको भन्दै उनले यही निर्वाचनमार्फत् जनताले त्यसको जवाफ दिने बताए।

‘नागरिक उन्मुक्ति पार्टीसँग जनाधर छ कि छैन भनेर स्थानीय तह निर्वाचनमै देखाइसकेको छ। चार पालिका त्यसै जितेको होइन। हेर्दै जानुहोला, यो संसदीय निर्वाचनमा जनताले न्याय दिन्छन्,’ टिभी प्रस्तोतासँग उनले भने।

उनले रेशम चौधरी पनि आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ सिफारिस भएको बताए। ‘यहाँ अफताब आलम चुनाव लड्न पाउँछ भने रेशम चौधरी किन पाउँदैन?,’ उनको प्रश्न थियो।

उनले टीकापुर घटनामा थारुहरुलाई अन्याय भएको बताए। नत्र भदौ ८ गते थारुहरुको घर जलाउनेलाई किन कारबाही नभएको भन्दै उनले प्रश्न गरे। उनले लाल आयोगको प्रतिवेदन, देवी शर्माको प्रतिवेदन, संसदीय प्रतिवेदन सार्वजनिक गर्न माग गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *