दाङ १ मा एमालेबाट गंगा कि शान्ता चौधरी? यस्तो छ सम्भावना

एमालेकी दुई थारु सांसद शान्ता चौधरी र गंगा सत्गौंवा चौधरी बेलाबखत चर्चामा रहने गर्छिन्। समानुपातिकबाट सांसद बनेकी र ‘भाइरल’ सांसदको रुपमा समेत चिनिने गरेकी गंगा र पूर्व कमलरीसमेत रहेकी सचेतक शान्ता दाङको एउटै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन्।

उनीहरुसँगै रेवतीरमण शर्माको नाम पनि सिफारिस भएको छ। तर थारु बाहुल्य रहेको उक्त क्षेत्रबाट गंगा र शान्ता प्रबल उम्मेदवार हुन्। सामाजिक सञ्जालमा समेत लोकप्रियता हासिल गरेकी गंगा र पार्टीभित्र राम्रो पोर्टफोलियो बनाएकी शान्तामध्ये कोसले बाजी मार्ला भन्ने चर्चा यतिबेला एमाले वृत्तमा छ।

सोही क्षेत्रबाट प्रतिनिधित्व गरेकी र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हरेक तवरबाट ‘प्रोटेक्ट’ गर्ने गंगाका पक्षमा सो क्षेत्रका अधिकांश नेताहरुले वकालत गरे पनि शीर्ष नेतृत्वले पोर्टफोलियोको हिसाबले शान्तालाई अगाडि सार्ने भन्ने मुडमा देखिएको एक नेताले थारुवानसँग बताए।

दुवै जना समानुपातिकबाट सांसद बनेकाले पार्टीले जारी गरेको आधारअनुसार यसपटक दुवै जना समानुपातिकबाट सांसद बन्न पाउने छैनन्। तसर्थ दुवैले प्रत्यक्षतर्फका उम्मेदवारका लागि सक्दो प्रयास गर्ने नेताहरु बताउँछन्।

सोही क्षेत्रबाट कांग्रेसबाट योगेन्द्र चौधरी, एकीकृत समाजवादी पार्टीबाट मेटमणि चौधरीले दाबी गरेका छन्। गठबन्धन दल सबैले उक्त क्षेत्रलाई दाबी गरे पनि कुन पार्टीले पाउने भन्ने अहिल्यै निर्क्यौल भइसकेको छैन। यता नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।

समग्रमा आगामी निर्वाचनमा यस क्षेत्रबाट थारू नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *