एमालेका प्रदेश सांसद रेशम चौधरीको पार्टीमा प्रवेश

नेकपा (एमाले) परित्याग गरी सुदूरपश्चिम प्रदेशका सांसद रतन थापालगायतका विभिन्न पार्टीका १७ जना प्रभावशाली नेताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थापा एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य हुन्।

त्यस्तै सांसद परियार चौधरी, सुदुरपश्चिम प्रदेशका निवर्तमान सांसद हिमाञ्चलराज भट्टराई, नेताहरु डा. प्रदीप भट्टराई, तेजराम चौधरी, नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, राजाराम चौधरी, लक्ष्मीराम चौधरीलगायत रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गरेका हुन्।

उनीहरुलाई पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेकी हुन्। उनले नागरिक उन्मुक्ति पार्टीको स्थापना महत्वपूर्ण परिस्थितिमा भएको र आफूहरु पार्टी स्थापनाको उद्देश्यअनुसार नै सही तवरले अघि बढेको स्पष्ट पारिन्। उनले पछिल्लो समय पार्टीप्रति जनताको उभार आएको दाबी गरिन्।

उनले समावेशी, समानता, शुसासन, संघीयता र पहिचानमा प्रतिवद्ध भई नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध भएको समेत स्पष्ट पारिन्। उनले देशमा शासन व्यक्तिको नभई विधिको हुनुपर्छ भन्ने मान्यता पनि आफ्नो पार्टीले बोकेको बताइन्। आफ्नो पार्टीले सबै धर्म, जाति र अल्पसंख्यक समुदायको रक्षा गर्ने उनको भनाइ छ।

त्यस्तै रतन थापाले जनताको भाग्य र भविष्य निर्माण गर्ने आशाले आफूले एमालेमा २२ वर्ष बिताएको भए पनि एमालेले देश र जनताको राम्रो काम गर्न नसकेको गुनासो गरे। एमालेकै विभिन्न कारणले पार्टी छाड्न बाध्य भएको सुनाउँदै उनले जनताको सेवा जुनसुकै पार्टीमा बसेर गर्न सकिने उल्लेख गर्दै आफू जनताकै सेवाको लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको स्पष्ट पारे।

उनले एमालेमा धनाढ्य व्यक्ति आए अहिले नै नेता बन्ने र निर्वाचनको टिकट पाइहाल्ने अवस्था रहेको भन्ने आरोप लगाए। आफूले पार्टीमा भ्रष्टाचारीलाई टिकट नदिन सल्लाह दिएको स्मरण गराउँदै उनले आफूलाई उल्टै निष्काषन गर्न खोजिएको गुनासो गरे। उनले भने, ‘पार्टीमा भ्रष्टाचारीहरुलाई टिकट नदिनु भनेकोले ममाथि अन्तर्घातको ट्याग लगाइयो।’

टीकापुर घट्नाको विषयमा बोल्दै उनले उक्त घट्नामा संलग्न नै नभएको व्यक्तिलाई दोषी बनाइएको पनि दाबी गरे। आफूले पार्टीबाट एक पैसा नकमाएको उल्लेख गर्दै उनले कसैले एक रुपैयाँ लिएको छस भनेर भनेमा त्यसमा च्यालेन्ज गर्न तयार रहेको सुनाए।

एमालेमा करोडौं रुपैयाँ दिएको तर एक रुपैयाँ पनि नलिएको उनले स्पष्ट पारे। पार्टीमा लिन नभई आफू दिन गएको उनको भनाइ थियो।

उनले पार्टी नछाड्न एमाले नेतृाहरुको फोन आइरहेको सुनाउँदै अब एमालेमा फिर्ता हुन नसक्ने स्पष्ट पारे। उनले भने, ‘अब एमालेमा टिक्न सक्दिनँ भनेर मेरो मनले भनिसकेको छ। छातीमा गोली लाइसकेको, अन्तर्घाती गोली खाएर रोग बोकेजस्तो रोग बोक्न चाहान्नँ म।’ उनले नागरिक उन्मुक्ति पार्टी इमान्दार, स्वच्छता र सेवामा १ नम्बरमा आउने दाबी गरे।

त्यसैगरी पूर्वसांसद कैया चौधरीले रेशम चौधरीलाई सानैदेखि तिक्ष्ण बुद्धि भएको व्यक्तिव्यको रुपमा चित्रण गरेका छन्। रेशमलाई पारिवारिक नाताले नाती पर्ने भन्दै सांसद चौधरीले निकै मार्मिक भनाइहरु पनि स्मरण गराए। उनले भने, ‘रेशमले मलाई भन्नुभयो, आज तपाईंको छत्रछायाँमा नबसेको कारण म खोरमा पुगेँ।’ पार्टीको संरक्षण तपाईंबाटै हुनुपर्ने भन्दै आफूलाई रेशमले आफ्नो पार्टीमा आउन पटक-पटक आग्रह गरेको सुनाए।

अब पुराना विचारले काम नगर्ने उनको भनाइ थियो। उनले भने, ‘पुरातन विचारको समयसापेक्षले अब काम गर्दैन्। नयाँ विचार आउनुपर्छ। समयअनुसारको आइडिया र प्रगतीशिल विचारले अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ अघि बढ्नुपर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *