महाभारतका भीम र थारु जातिको अट्‍वारी पर्व

छविलाल कोपिला
अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको पाइन्छ । जे जस्तो भएपनि अट्वारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतबार अथवा कुश अमाँवस (कुशेऔंशी) पछिको पहिलो आइतबारलाई अट्वारी मान्ने चलन छ । तर अट्वारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ ।

अट्वारी, कुशेऔंसी पछिको पहिलो आइतबारलाई ‘बर्का अट्वारी’को रुपमा मानिन्छ भने कोही–कोही त्यसपछिको चार सहित पाँच आइतबार ‘अट्वारी’ व्रत बस्ने गर्छन् । यसरी ‘पाँच अट्वारी’ पछि दशैं आउँछ । अथवा कुशेऔंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अट्वारी मान्न सकिन्छ । यसरी पाँच अट्वारी व्रत बस्ने चलनले पनि कुशेऔंसीको पहिलो आइतबारलाई अट्वारी मान्ने चलनको प्राण बलियो देखिन्छ ।
केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज पछिको आइतबारलाई अट्वारी मान्ने पनि छ । तर योे त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अट्वारी’ व्रत बस्नेहरुको अट्वारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होेइन ।

उसो त कुशेऔंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ । पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अट्वारी मान्ने समस्या देखापरेको छ । यसले पाँच अँट्वारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ । कुनैै–कुनैै साल पित्तरपक्ष, मलमास या समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अट्वारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अँँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ ।

रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा ‘कुशेऔंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अट्वारी मान्ने गरिन्छ’ भन्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अट्वारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भएपनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।

प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको जन्म दिवसको (सूर्यको पूजा गरेर) रुपमा मनाइन्छ । सूर्यको जन्म भदौं महिनामा भएको थियो । जुन दिन कुशेऔंसीको पहिलो आइतबार थियो । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज, अग्नि) । जब भयावह कालरात्रिमा सूर्यको जन्म भयो । त्यसपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन् ।

योे पर्वको विषयमा केही अन्य मिथकहरु पनि छन् । श्रीमद्भागवत् पुराण अनुसार योे व्रत सबभन्दा पहिले सन्तनु राजाका पुत्र राजकुमार देवदत्त अँट्वारी व्रत बसे भन्ने उल्लेख छ । उनी सूर्य उपासक थिए । उनी विहेवारी पनि गरेनन् । राजकुमार देवदत्तहरु चारभाइ थिए । देवदत्त, भीष्मपितामह, पाण्डु र विदुर । भीष्मपितामह अन्धो र पाण्डु पाण्डा रोगी (कुष्ठ रोग) भएकोले उनलाई पाण्डु भनिएको हो । सूर्यको पूजा गरेपछि पाण्डुको रोग निको भयो । धार्मिक दृष्टिले सूर्य पूजा (अग्नि पूजा) गरेपछि कुष्ठ रोग निको हुन्छ भन्ने प्राचीन धारणा छ । त्यसैले योे व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरु सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला–ठूला ऋषिमुनिहरु पनि सूर्यको उपासकको रुपमा सूर्यको जन्म दिन आइतबारलाई अँट्वारी व्रत बसेर मनाउन थाले । जुन अहिले पनि योे चाड चलन चल्तीमा छ ।

अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा–पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लडाइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अहिलेपनि अट्वारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ । थारू समुदायमा भीमको ठूलै गुणगान भएपनि उनीसंगको अट्वारी पर्वको सन्दर्भ भने कमजोर देखिन्छ । अँट्वारी (रवि व्रत, आइतवार व्रत, अग्नि पुजन) थारू समुदायमा मात्रै होइन मधेसी समुदायमा पनि मान्ने चलन छ । उनीहरुको व्रतमा भीमसंग प्रसंग जोडिएको पाइँदैन । अर्को कुरा भीम स्वयम् आफै अट्वारी व्रत रहने गरेको प्रसंग गीता र महाभारतसंग सम्बन्धित थारू लोकगीतहरुमा पाइन्छ ।

भीमसंगको अर्को सन्दर्भ पनि अट्वारी पर्वसंग जोडिएको छ । थारू लोककथामा थारू राजा दंगीशरणलाई लडाइमा सघाएको भन्ने कुरा उल्लेख छ । यसरी सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अट्वारी व्रत बस्ने विचार जनमानसमा छ । तर लोककथाले जे भने पनि महाभारतकालीन (३५०० वर्षभन्दा अगाडि) पौराणिक पात्र भीम र १२–१३औं शताब्दितिर दाङको सुकौराकोटमा राज्य गरेका ऐतिहासिक पात्र दंगीशरणसंगको सन्दर्भले बौद्धिकस्तरमा विश्वासको अभाव हुनसक्छ । किनभने थारू लोककथा बाहेक महाभारत पुराणमा कहीकतै भीमसंगको दंगीशरणको सन्दर्भ जोडिएको पाइँदैन । त्यसकारण यस विषयमा गहिरो अध्ययन हुन जरुरी छ । अट्वारी पर्वको बारेमा अध्ययन गर्दा विभिन्न मिथक र सन्दर्भहरु पाइन्छन् । ती सन्दर्भहरु वैचारिक रुपमा एकरुपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।

अँट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अट्वारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर, अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानुपर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।

आइतबार अथवा अट्वारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन् । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अट्वारीमा अन्डी र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्रुट्, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलि–अलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।
सूर्य आगोको मुख्य श्रोत हो । त्यसैले सबैभन्दा पहिले आगोलाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ । अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अट्वारीमा दिनभरि निराहार बसिदैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ ।
अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अट्वारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरु हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अट्वारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन् ।
अन्य पर्वमा जस्तै अट्वारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारू समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।

योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु–भाइ तथा परिवारसंग दुःख–सुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुख–दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरु पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गक्ष र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अट्वारी सबैको शुभ रहोस् ।




One thought on “महाभारतका भीम र थारु जातिको अट्‍वारी पर्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *