दाङ १ मा मेटमणि कि योगेन्द्र चौधरी?

चुनाव मिति घोषणा भएसँगै कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने विषय रोचक बन्दै गएको छ। सत्ता गठबन्धन दलले चुनावी गठबन्धन गर्ने तयारी गर्दै गर्दा कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने कुराको टुंगो लगाउन सकस भएको छ।

गठबन्धन दलभित्र यसअघिको निर्वाचनमा जितेको क्षेत्र सोही दललाई दिने मौखिक सहमति भएको बताइन्छ। तर यसबारे शीर्ष नेताहरु खुलेर केही भनिसकेका छैनन्। त्यसैले पनि होला दाङ क्षेत्र नं १ चर्चाको विषय बनेको छ।

केपी ओलीविरुद्ध खर्रो भाषण गरेर चर्चा कमाएका नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ १ बाट आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्। गृहजिल्लामा रहेका मन्त्री चौधरीले गठबन्धेनको तर्फबाट आफू साझा उम्मेदवार रहेको बताउँदै कार्याकर्ताहरुलाई चुनावी तयारीमा जुट्न आह्वान गरेका थिए।

‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस्। केही समस्या भए भन्नुस्। यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ,’ देउखरमा आयोजित भेलामा उनले भने। विसं २०७४ को चुनावमा एमालेबाट विजय हासिल गरेका मेटमणिले दाङ १ मा दाबी गरे पनि उनको लागि सहज भने छैन।

हालै सम्पन्न स्थानीय निर्वाचनमा उनले आफ्नै वडा पनि जिताउन सकेका थिएनन्। दाङ क्षेत्र १ मै पनि समाजवादीको मत प्रमुख पार्टीको भन्दा कम छ। त्यसमाथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले उक्त क्षेत्र आफूले पाउने दाबी गर्दै आएका छन्।

दाङ १ पाउनका लागि उनले पार्टीभित्र तीव्र लबिङ गरिरहेका छन्। खुमबहादुर खड्काको गढसमेत मानिएको उक्त क्षेत्र कांग्रेसले पाए विजय सुनिश्चित हुने दाबी कांग्रेस नेताहरुको छ। त्यसो त स्थानीय निर्वाचनको भोटको आधारमा माओवादीले पनि दाबी गर्दै आएको छ।

कांग्रेस नेता योगेन्द्रले दाङ १ को सिट बाँडफाँड गर्दा स्थानीय तहको निर्वाचनको मतलाई प्रमुख आधार मान्न शीर्ष नेतालाई आग्रह गरेका छन्। ‘गठबन्धनले सिट बाँडफाँडको टुंगो लगाएको छैन। सिटको टुंगो लगाउँदा स्थानीय निर्वाचनको मतलाई बिर्सनु हुँदैन। होइन भने गठबन्धनबाट पनि चुनाव जिताउन गाह्रो हुन्छ। संगठनमा विद्रोहको भाव आउन सक्छ। नेता कार्यकर्ताहरुमा निराशा हुनसक्छ,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *