कैलाली १ मा रञ्जिताको परीक्षा सुरु, सासु-ससुरासँग आशिर्वाद लिँदै उम्मेदवारी घोषणा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। टीकापुर विद्रोह दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन्।

त्यसअघि उनले आफ्ना सासु-ससुरा (रेशमका आमा-बुबा)सँग आशिर्वाद लिएकी थिइन्। पुर्ख्यौली घरमा बस्दै आएका आमाबुबासँग उनले आशिर्वाद लिँदै कैलाली क्षेत्र १ मा विजयी हुने बताइन्।

अघिल्लो निर्वाचनमा रेशम चौधरीले कैलाली क्षेत्र १ बाट अत्यधिक मत ल्याएर विजयी भएका थिए। तत्कालीन राजापाबाट उम्मेदवारी दिएका रेशमले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाएकी थिइन् भने कांग्रेसकी इश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन्।

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो।

आफ्नो श्रीमानको बिरासत जोगाउन रञ्जिता श्रेष्ठको परीक्षा अब सुरु भएको छ। पछिल्लो समय उनी संगठन विस्तारमा देशव्यापी अभियानमा लागेकी छन्। कलाकारसहित टोली लिएर उनले तराईका जिल्ला दौडाहा लागेकी छन्।




One thought on “कैलाली १ मा रञ्जिताको परीक्षा सुरु, सासु-ससुरासँग आशिर्वाद लिँदै उम्मेदवारी घोषणा

  1. धेरै राम्रो कार्य गर्दै हुनुहुन्छ रञ्जिता मेडम हजुरलाई हाम्रो सदैब साथ सपोर्ट छ। र थारु भएका प्रत्येक जिल्ला जिल्लामा जानुस त्यहा गएर नागरिक उन्मुक्ति पार्टीको कार्यक्रम पनि देखानु किनकी मैले भन्दै आएको छु कतिपय थारु हरुलाई थाहा छैन कि माननीय रेशम चौधरी को हुन र काहाको हुन भनेर जब माननियको बारेमा थाहा पाउँछन् हाम्रो थारुहरु त्यस पछि हेर्नू न कति मान्छे नागरिक उन्मुक्ति पार्टी मा लाग्छन । किनकी आफ्नोलाई जस्ले पनि साथ दिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *