बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी घोषणा, किन रोजे बर्दिया २?

टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्। बर्दियामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको तर्फबाट उम्मदवारी घोषणा गरेकी हुन्। उनी रेशम पत्नीसमेत हुन्।

उनले शासक वर्गले टीकापुर घटनाको नाममा थारुमाथि दमन गरिरहेको आरोप लगाइन्। उनले निर्दोष रेशम चौधरीलाई जेलमा कोचेर अन्याय गरेको बताइन्। त्यसैकारण पनि सम्पूर्ण थारुलाई ढकिया चुनाव चिन्हलाई अत्यधिक भोट दिएर आगामी निर्वाचनमा जिताउन अपील गरिन्।

उनले नागरिक उन्मुक्ति पार्टी कुनै जात विशेषको नभएर सम्पूर्ण नेपालीको भएको बताइन्। उनले चुनावी अभियानका लागि देशव्यापी कार्यक्रम सञ्चलान भइरहेको बताउँदै सम्पूर्ण आदिवासी थारुहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुन आह्वान गरिन्।

बर्दिया क्षेत्र २ को प्रदेशसभाका लागि मोहन चौधरी उठ्ने बताइएको छ। उनी जनता समाजवादी पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका थिए। त्यस्तै हालै कांग्रेस परित्याग गरेकी थरुहट नेतृ सोमती थारु पनि आकांक्षी छिन्। अध्यक्ष रञ्जिताले भने कैलाली क्षेत्र १ बाट उम्मेदवारी घोषणा गरेकी छन्।

रेशमले किन रोजे बर्दिया २?

बर्दिया थारु बाहूल्य रहेको जिल्ला हो। यहाँ ५० प्रतिशत बढी थारुहरुको बसोबास रहेको छ। बर्दिया क्षेत्र २ मा त झन् ७० प्रतिशत बढी थारुहरु छन्। यो क्षेत्रबाट माओवादीका सन्तकुमार चौधरीले तीनपटक चुनाव जितेर ह्याट्रिक गरेका छन्। पछिल्लो प्रतिनिधिसभा चुनावमा उनले नेपाली कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए।

तर यसपटक चुनावी समीकरण फेरिने बताइएको छ। सत्ता गठबन्धनले निरन्तरता पाएमा सन्तकुमार चौधरी फेरि प्रबल आकांक्षी बन्ने बताइएको छ। किनकि विजयी भएको क्षेत्र सोही पार्टीलाई दिइने गठबन्धनका नेताहरुबीच मौखिक सहमति नै भएको छ।

तर कैलाली ५ बाट पराजित भएका प्रधानमन्त्री पत्नी आरजु देउवाले पनि बर्दिया क्षेत्र २ बाट लड्ने चाहना राखेको बालुवाटार स्रोत बताउँछ। आरजु, सन्तकुमार वा अन्य जुनसुकै नेताले टिकेट पाए पनि रेशम चौधरी उनीहरुका लागि टाउको दुखाइको विषय बन्नसक्छन्।

टीकापुरपछि रेशमको आधार क्षेत्र पनि राजापुर र गेरुवा क्षेत्र हुन्। जहाँ ८० प्रतिशत बढी थारुहरुको बसोबास छन्। यसपटकको चुनावमा प्रमुख दलले ‘गैर थारु’लाई उम्मेदवार बनाउँदा रेशम चौधरीको जित पनि सुनिश्चित रहेको उनी निकट नेताहरु बताउँछन्। टीकापुरको समीप र थारु बाहुल्यक्ष क्षेत्र भएरै रेशमले उक्त क्षेत्र रोजेको बताइन्छ।

तर उनी चुनावमा उम्मेदवारी दिन पाउने नपाउने विषय अझै अन्योलमा छ। केही कानुनविद्हरुले चुनाव लड्न नपाउने बताइरहेका छन् भने केही कानुनविद्हरुले सर्वोच्च अदालतमा उनको मुद्दा विचाराधीन रहेकाले ‘स्टेअर्डर’ लिएर चुनाव लड्न पाउने बताइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *