काठमाडौंका थारूले मनाए अस्टिम्की

काठमाडौंवासी थारूले अस्टिम्की पर्व मनाएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा शुक्रबार सुरु भएको उक्त पर्व दर्जनभन्दा बढी थारू संघ–संस्थाको संयुक्त आयोजना शनिबार सम्पन्न भएको हो। सोही अवसरमा सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्टिम्कीको उद्घाटन गरेका थिए।

उनले अस्टिम्कीप्रति युवाहरूको चासो देखेर खुसी लागेको बताए। अस्टिम्कीसँगै सम्पूर्ण थारू युवामा राजनीतिक चेत हुनपर्नेमा उनले जोड दिए। ‘थारू युवाहरूमा आफ्नो कला, संस्कृतिप्रति चासो हुनु खुसीको कुरा हो। तर, आजको युवाहरूमा राजनीतिक चेत हुन पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘अब हामी थारूहरू कुनै न कुनै पार्टीमा लागेर नेतृत्वपंक्तिमा आउन जरुरी छ। नत्र हामी अघि बढ्न सक्दैनौं।’

यसैगरी थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारूलाई संविधानले दिएको अधिकारसमेत जबरजस्ती माग्नुपरिरहेको बताए। उनले थारूको जातीय संख्याअनुसार लोकसेवा अयोगलगायतमा आरक्षण हुनुपर्नेमा जोड दिए। ‘हामीलाई संविधानले सुनिश्चित गरेका आरक्षण पाउन पनि निकै कष्ट भइरहेको छ। यसलाई राज्यले सम्बोधन गर्नैपर्छ’, उनले भने।

कार्यक्रममा ‘थारू संस्कृतिमा कृष्णचरित्र परम्परा’ विषयमा विद्यावारिधी गरेका डा. कृष्णराज सर्वहारीले अस्टिम्कीबारे प्रकाश पारेका थिए। उनले अस्टिम्कीमा गाइने गीत र थारू संस्कृतिबारे सम्पूर्ण थारूहरू जानकार हुन आवश्यक रहेको बताए। ‘अस्टिम्की विशुद्ध चाड वा पर्व मात्रै नभएर यसका मुख्य पात्रहरू कान्हा (कृष्ण), राधा, इसरु, जासुलगायतको जीवनशैलीबाट धेरैभन्दा धेरै जीवनोपयोगी पाठ सिक्न सकिन्छ’, उनले भने।

समाजसेवी शिव चौधरीले आधुनिक जीवनशैली अपनाइरहेका थारूहरूले आफ्नो भाषा बिसिँदै गएकाप्रति चिन्ता व्यक्त गरे । ‘अहिले हामी आफ्नो भाषा बिर्सिएर नेपाली र अंग्रेजी भाषाप्रति मोहित भएको छौं। यो नराम्रो होइन तर, आफ्नो भाषालाई प्राथमिकता दिन जरुरी छ’, उनले भने।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मीनराज चौधरीले हरेक पर्वलाई केवल पर्वका रूपमा मात्र नभई यसलाई साँस्कृतिक आन्दोलनका रूपमा लैजानुपर्ने बताए। थारू राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष तथा कार्यक्रमका संयोजक विनय वैद्यले यस वर्षको अस्टिम्की भव्यताका साथ सम्पन्न भएको बताए।

के हो अस्टिम्की ?

थारूहरूको विभिन्न चाडपर्वमध्येको एक पर्व हो, अस्टिम्की। यो भगवान श्रीकृष्ण जन्माष्टमीका दिन मनाइन्छ। यो विशेषतः थारू समुदायका महिलाहरूको महत्वपूर्ण धार्मिक पर्व हो। यो गीतमय व्रतपर्व हो। अष्टिम्की पूर्वदेखि पश्चिमका समग्र थारू जातिले मनाउने गरेका छन्। तर, स्थान अनुसार मनाउने तरिका भने फरक–फरक छ। पश्चिमी (डँंगौरा) थारूहरूले यसलाई निकै महत्वका साथ मनाउने गरेका छन्।

अष्टिम्कीको विशेष आकर्षण भनेको ‘अष्टिम्की’ (भित्तेचित्र) हो। यसमा प्रकृति, इतिहास, मिथक तथा दर्शन, सृष्टिकथाजस्ता विषय गहिरो रूपमा पाइन्छ। अष्टिम्की थारू लोककला (ललितकला) को विशिष्ट उदाहारण पनि हो। जुन प्राचीनकालदेखि चल्दै आएको एक मात्र हस्तकला हो। यसलाई थारू भाषामा ‘रचैनाकला’ पनि भनिन्छ।

अष्टिम्की पूजाका लागि घरको बहरी÷बह्री (बैठक कोठा) को उत्तरतिरको भित्ता वा डेंह्री/कुठ्ली (अन्न राख्नका लागि बनाइएको माटोको भकारी)लाई ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले पोतेर क्यानभास बनाइन्छ। र, त्यसमै अष्टिम्की कोरिन्छ। तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको मुखिया/महटावाँ/बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन विस्तारै कम हुँदै गएको छ।

भाद्र अष्टिम्कीको दिन थारू समुदायका पुरुष तथा महिला (विशेषगरी महिला) दिनभरी निर्जला व्रत बस्ने र बेलुका महिलाहरू सामूहिक रूपमा अष्टिम्कीमा टिक्ने (प्रत्येक चित्रमा टीका लगाउने। रावणको चित्रबाहेक) प्रचलन छ। टिक्ने काम सकेपछि कृष्ण (कान्हा) लाई मनपर्ने अमिलो, अम्बा, काँक्रा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाइन्छ। त्यसपछि बिहान दियो बालेर फेरि टिक्छन् र आफूले पूजा गरेका सामानसहित नजिकैको खोलामा सेलाउने गरिन्छ।

अष्टिम्कीमा ब्रह्मान्ड सृष्टिदेखि स्थलमण्डल, बोटबिरुवा, वनस्पति, साना जीव हुँदै मानिसको सृष्टि सम्बन्धी दर्शन अंकित भएको हुन्छ। यसमा कृष्णकथाको सार वा कृष्ण चरित्रबारेका कलाले विशेष ठाउँ पाएको छ। यसमा मूलत: थारू जातिका देवता पाँच पाण्डवलगायतका चित्र अंकित गरिएको हुन्छ। ती चित्र अष्टिम्कीको दिनमा थारू चित्रकार (व्रतालु) ले बनाउँछन्।




Leave a Reply

Your email address will not be published.