थरुहट-कोचिला स्वयत्तः राज्यसहितको एजेण्डा बोकेर किशोर विश्वासले खोले नयाँ पार्टी

मधेस-थरुहट आन्दोलनको अगुवाई गर्ने किशोर विश्वासले नयाँ पार्टी दर्ता गराएका छन्। विभिन्न पार्टीको नेतृत्व तहमा रहिसकेका विश्वासले १७ वर्षपछि आफ्नै अध्यक्षतामा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराएका हुन्।

२१ सदस्यीय केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गरिएको बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालले चुनाव चिन्ह ‘मास्क’ दाबी गरेको छ। त्यसो त उनको पार्टीले घडी र बाज पनि चुनाव चिन्हका लागि प्रस्ताव गरेको छ।

को को छन‍् पार्टीमा?
किशोर विश्वाससँगै पार्टीमा भगगवती लाल चौधरी, भिमबहादुर राजबंशी, जागेश्वर प्रसाद विश्वास, मनोजकमार विश्वास, बृजमोहन चौधरी, श्रवण कुमार सुतिहार थारु, देवनारायण विश्वास, सञ्जय कुमार राजवंशी, चतुरलाल चौधरी, वर्षा चौधरी, गीतादेवी चौधरी, कृष्णा कुमारी चौधरी, बिनोद चौरसिया, महेन्द्र ठाकुर, गीता राई चौधरी, अमर खड्गी, सुभाषचन्द्र चौधरी, हरिनारायण चौधरी, ममता चौधरी र मञ्जु राजबंशी रहेका छन्।

के छ पार्टीको प्रस्तावनामा?
नेपाली समाजको जातीय, धार्मिक, सामाजिक, साँस्कृतिक, भौगोलिक विविधता, बहुआयामिक तथा बहुलराष्ट्रिय समाजलाई कायम राख्दै आदिवासीवादी दिश्वदृष्टिकोणद्वारा निर्देशित बहुलराष्ट्रवाद, संघीयवाद र समाजवादीको विचार तथा सिद्धान्तद्वारा विविधता-समानता-एकतासहितको नयाँ नेपाल स्थापना गर्ने पार्टीले नीति अवलम्बन गरेको छ।

त्यस्तै केन्द्रीकृत, उपनिवेशवादी, एकात्मक एवं हिन्दु एकल-राष्ट्रिय शासकीय संरचनाको अन्त्य गरी आत्मनिर्णयको अधिकारसहित नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा लिम्बुवान, खुम्बुवान, थरुहट/कोचिला, तामाङसालिङ, नेवा मण्डल, तमुवान, मगरात, मिथिला/मधेस र खसानलगायतका स्वयत्तः राज्यसहितको संघीय गणतान्त्रिक बहुलराष्ट्रिय नेपाल स्थापना गर्ने नीति अवलम्बन गरेको अध्यक्ष विश्वासले बताए।

निर्वाचनको तयारी

अध्यक्ष विश्वास भदौ ७ गते सुनसरीमा विशाल विरोध सभा प्रदर्शन गर्ने बताए। आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तराईका क्षेत्रमा उम्मेदवारी दिने तयारीसमेत रहेको उनको भनाइ छ। ‘यत्रो वर्ष म पार्टी पद्धतिभन्दा बाहिर थिएँ। नेपाली राजनीतिको प्रहसन हरेँ। यस्तो राजनीतिले देशमा आमूल परिवर्तन आउँदैन। त्यसैले पार्टी दर्ता गरेका हौं। हाम्रो पार्टीले तराईका क्षेत्रमा उम्मेदवारी दिन्छ। त्यसका लागि हामीले तयारी गर्दैछौं,’ उनले थारुवानसँग भने।

अध्यक्ष चौधरीले आफू पनि सुनसरी क्षेत्र ३ बाट उम्मेदवारी दिने बताए। जहाँ एमालेकी भगवती चौधरी र कांग्रेसका विजय गच्छदार उठ्ने चर्चा चलिरहेको छ। दुई नेतालाई टक्कर दिन आफूले सोही क्षेत्रमा उम्मेदवार बन्ने उनको भनाइ छ।

उनका अनुसार बहुलराष्ट्रिय समाजवादी पार्टीले भदौ ७ गते सुनसरीमा विशाल विरोध प्रदर्शन गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *